सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ बजारमा

सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ बजारमा

केन्द्रबिन्दु
0
Shares

कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो।
 
आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अघि शब्दहरू अविराम यात्रामा, आमा, बिम्बशिविर र हिउँको आरोहण कृति प्रकाशित भइसकेका छन्।
 
शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्षसमेत रहेका छन्।
 
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ।
 
साहित्यकार प्रभा बरालले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्त्व्य शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि कवि श्रवण मुकारुङ रहेका थिए। कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।
 
टिप्पणी गर्ने क्रममा महेश पौड्यालले भने, ‘कवितामा पुस्तान्तरणको बजोड प्रस्तुति रहेको छ। कविसँग भएको आलोचनात्मक चेतको प्रयोग भएको भेटिन्छ।’ त्यसैगरी ज्ञानु अधिकारीले भनिन्, ‘ वृद्धवृद्धाको निरासमय अभिव्यक्ति रहेको पाइन्छ। ’

कार्यक्रमको बीचमा उक्त कवितासङ्ग्रहबाट कवि निरज दाहाल र मञ्जिल अनिलले एक एक वटा कविता वाचन गरेका थिए।
 
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य रु.२०० रहेको छ।

Skip This
Skip This
Logo