प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ सरकार गठनको ८८ दिनपछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्।
आज देउवाले मन्त्री र राज्यमन्त्री गरी १८ जना सदस्य मन्त्रिमण्डलमा थप गरेका छन् । तर यति बेला मन्त्री बनेका १८ जनामध्ये गजेन्द्र हमालको चर्चा चुलिएको छ ।
केही दिन अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीपरिषद्मा आफ्नो कोटा मागेको समाचारले चर्चा पायो, जसमा जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रस्ताव गरेको कुरा खुल्न आएको थियो ।
आज तिनै हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । नाताले गजेन्द्र हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।
यस्तो छ हमालको पृष्ठभूमि
२०२७ सालमा कांग्रेस निकट विद्यार्थी संघठन नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष बनेपछि हमालको राजनीति यात्रा औपचारिक रूपमा सुरु भएको थियो । हमालले राजनीतिक यात्रा सुरु गरेको ४ वर्ष पछि २०३१ सालमा नेवि संघ बाँकेको अध्यक्ष भए ।
हमाल पञ्चायत कालमा एक दशकभन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए । कांग्रेसका स्वर्गीय नेता भाइराजा हमाल परिवारका साइला भाइ हुन् उनी ।
कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेताहरु नेपालगन्ज पुग्दा हमाल परिवारसँग उठबस हुन्थ्यो । त्यस बखत गजेन्द्र हमाल कांग्रेस नेताहरूसँगै हुन्थे ।
विद्यार्थी संघठनबाट राजनीतिक सुरुवात गरेका हमाल देउवा निकट मानिन्छन् । उनी २०५२ सालमा नेपाली कांग्रेस बाँकेको पार्टी सभापति थिए । तर, देउवा निकट भएकै कारण सुशील कोइरालाले हमाललाई पार्टी सभापतिबाट हटाएर आफू निकट कृष्णमान श्रेष्ठलाई सभापति बनाएका थिए ।
देउवाले कांग्रेस विभाजन गरेको समयमा हमाल देउवाको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) बाट ४ वर्षसम्म बाँके जिल्ला सभापति भएका थिए । पछि देउवाकै पहलमा २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट हमालले टिकट पाएका थिए । तर, उनी पराजित भए ।
६६ वर्षीय हमाल पछिल्लो समय काठमाडौंमै सक्रिय थिए । चोलेन्द्र शमसेर जबरा अर्थात् गजेन्द्रका ज्वाइ प्रधानन्यायाधीश भएपछि उनको काठमाडौं आउजाउ बाक्लिएको थियो ।





























प्रतिक्रिया