महँगियो खसी बजार, सरकारको सहुलियत बजार उपभोक्ताका लागि नाम मात्रकै

महँगियो खसी बजार, सरकारको सहुलियत बजार उपभोक्ताका लागि नाम मात्रकै

केन्द्रबिन्दु
0
Shares

सरकारले दसैं–तिहार लक्षित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल असोज १ गतेदेखि सञ्चालन गर्दै आएको छ।

सरकारले प्रत्येक वर्ष सर्वसाधारणलाई सहुलियत दिनका लागि दसैं–तिहार लक्षित सहुलियत पसल सञ्चालनलाई निरन्तरता दिएको हो। सरकारले चाडपर्व लक्षित सरकारी संस्थानलाई खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैंयाँ अनुदान दिने भएको छ।

सरकारले दसैंका लागि खसीबोका तथा च्याङ्ग्रासमेत सहुलियत मूल्यमा बेच्ने गरेको छ। यो वर्षको दसैंमा खाद्य व्यवस्था विभागले खसीबोका मात्रै बेच्न थालेको छ। कोरोना महामारीका कारण च्याङ्ग्रा खरिद गरेर ल्याउँदा दोब्बर महँगो पर्ने भएको भन्दै खसीबोका मात्रै बेच्न लागेको खाद्य विभागकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन्।

विगतका वर्षको भन्दा यो वर्ष खसी बजारमा खसीको मूल्य महँगीएको छ। सरकारले बिक्रि गर्ने खसी विगतका वर्षमा बाहिर बजारमा किने भन्दा सस्तो हुने गरेको थियो। तर,यो वर्ष सरकारले बेच्ने खसीबोका पनि महँगो मूल्य परेको सर्वसाधारणले जनाएका छन्।

अघिल्ला वर्षहरूमा जिउँदो च्याङ्ग्रा ७/८ सय रुपैयाँमा पाइने गरेकोमा अहिले १३/१४ सय रुपैंयाँ मूल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरूको गुनासो छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि शनिबारबाट सहुलियतमा उपभोक्तालाई बिक्री गर्ने भएको छ। खाद्यले शनिबारका लागि दाङ र हेटौंडाबाट ल्याएका खसीबोका बेच्न थालेको हो।

बजार मूल्यभन्दा खाद्यले किलोमा सय रुपैयाँ सस्तो दिँदै

खाद्य कम्पनीले उपभोक्तालाई बिक्री गर्ने खसीबोका बजार मूल्यभन्दा किलोमा कम्तिमा एक सय रुपैंयाँ सस्तोमा दिने कम्पनीले जनाएको छ।

यता, मासु बिक्रेताहरुको व्यवसायिक संगठनले जिउँदो खसीबोका प्रतिकिलो ७३० रुपैंयाँका दरले बिक्री गर्नेगरी मूल्य निर्धारण गरेको छ। चौपाया खरिद बिक्री संघले पनि आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ। संघले जिउँदा खसी किलोको ६५० तोकेको छ। १० रुपैयाँ छुट दिइने भएकाले प्रतितकोलो ६४० सम्ममा दिन संघले जनाएको छ।

त्यस्तै, खाद्यले खसीबाेकाको निर्धारित मूल्य प्रतिकेजी ६५० र छुट प्रतिकेजी १० रुपैयाँसहित प्रतिकेजी ६४० रुपैयाँ रहेको छ। गत वर्षको भन्दा प्रतिकेजी ९० रुपैयाँले बढेको छ। गत वर्ष छुटसहित प्रतिकेजी ५५० केजी रहेको थियो। 

कम्पनीले यो वर्ष दसैंमा दुई हजार खसीबोका बिक्री गर्नेछ। जसमा हेटौंडाबाट १२ सय र दाङबाट ८ सयवटा खसीबोका खरिद गरेको कम्पनीले जानकारी दिएको छ। तर यति परिमाणले नपुगे वा उपभोक्ताबाट माग धेरै आए कम्पनीले थप खसीबोका पनि आपूर्ति गर्ने बताएको छ। 

खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।

नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ती गाउँबाट पनि आउँछ। कोरोना संक्रमणको जोखिमका कारण सीमानाका नखुल्दा च्याङ्ग्राको मूल्य बढेको छ।

दसैं सुरु भएसँगै काठमाडौंका खसी बजारमा खसीबोका किन्नेको भीड बढ्न थालेको हो। दसैंका लागि काठमाडौं भित्रिने पशु चौपायाको स्वास्थ्य परिक्षण गरेर मात्रै ल्याइने व्यवसायीले बताएका छन्।

काठमाडौंमा अहिले मकवानपुर, धार्दिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसीबोका आउन थालेको छ। जिउँदो खसीबोका सरदरमा ७ सय रुपैयाँदेखि ८ सय रुपैंयाँमा विक्री भइरहेको व्यवसायीले बताएका छन्।

यता, सरकारले दसैंमा धेरै खपत हुने खसीबोकाको स्वास्थ्यस्थिति राम्ररी पहिचान गरेर मात्र किन्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभाग नेतृत्वमा विभिन्न निकायले खसीबोकाको गुणस्तर मूल्यको अनुगमन गरिरहेको बताइएको छ। 

सरकारले सञ्चालन गरेको नाम मात्रैको सुपथ मूल्य पसल

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले असोज १ गतेदेखि  सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ। सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थसमेत बिक्री भइरहेको छ। सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म सस्तो मूल्यमा सामान दिएको छ। 

देशभरका ३९ जिल्लाका ४३ स्थानमा सञ्चालनमा रहेको सुपथ मूल्य पसलबाट मोटा/मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट दिइएको छ। 

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालनमा रहनेछन्। तर सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलले आम उपभोक्तालाई सहुलियत दिने भने पनि नाम मात्रैको सहुलियत देखिएको छ।

सस्तो मूल्य भएता पनि काठमाडौं उपत्यकामा समेत पर्याप्त सुपथ मूल्य पसल नहुँदा दरबारमार्गमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलले बालाजुको उपभोक्तालाई समेट्न नसकेको देखिन्छ। त्यसैले सरकारको सहुलियत पसल नाम मात्रै भएको छ।

त्यस्तै, सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले साढे ३८ लाखभन्दा बढी मूल्यको चामल बिक्री वितरण गरेको छ।

सहुलियत पसलबाट ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो। जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ गतेसम्म ५३० क्विन्टल चामल बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

त्यस्तै, साल्ट टेनिङका प्रवक्ता सागर भण्डारीले असोज १ गतेदेखि सञ्चालनमा रहेका सहुलियत पसलबाट सबैथरीका सामान गरी करिव एक करोड ८७ लाख भन्दा बढीको सामान बिक्रि वितरण गरिएको बताए।

Skip This
Skip This
Logo