सशक्त कम्युनिष्ट धारको नेतृत्व नेकपा एसले गर्छः राजेन्द्र पाण्डे

सशक्त कम्युनिष्ट धारको नेतृत्व नेकपा एसले गर्छः राजेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । 

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहनले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताए । 

उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताए । उनले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको जानकारी धारणा राखे । उनले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको बताए । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटक पटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको स्पष्ट पारे । रासस
 

Logo