कमल थापाले भने, “आफ्नो पछि कति भिड छ हेर्दिन, निष्काम कर्म गर्छु”

कमल थापाले भने, “आफ्नो पछि कति भिड छ हेर्दिन, निष्काम कर्म गर्छु”

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वप्रधानमन्त्री  किर्तिनिधी विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको "नइ किर्तिनिधी पुरस्कार" बाट आज पुरस्कृत भएका छन्। 

कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी ,घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडी कति भिड छ भनेर कहिल्यै नहेरि निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिँडिरहेको बताएका छन्। आज नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ वर्षिय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई भाग्यशाली महसुस गरे।  

राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तब्य भएको भन्दै थापाले पुरस्कारले थप इमान्दारिता र निष्ठापूर्वक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए। आफूले धेरै कठिन परीक्षा ब्यहोरेको चर्चा गर्दै थापाले भिड र तालीको लागि नभई सत्य र निष्ठाको निमित्त निष्काम कर्म गरिरहने स्पष्ट पारे। आम मान्छेले चिनेको बुझेको कमल थापाभन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए। 

लोभ, मोह र स्वार्थबाट माथि उठेर काम गर्नु कठिन विषय भएको तर आफू त्यो अभ्यासमा रहेको र सम्मानको बोझले थप थिचिएको उनको भनाइ थियो। "इमान्दार र अटल भएर अडिन गाह्रो छ, तर म त्यो अभ्यासमा छु"-थापाले भने। पुरस्कार बापत प्राप्त १ लाख  नगद आफूसँग आबद्ध रहेको सामाजिक संस्थालाई प्रदान गरि गरिब जेहन्दार विद्यार्थीलाई पढ्न उपलब्ध गराउने समेत उनले बताए। 

पूर्वप्रधानमन्त्री किर्तीनिधि विष्ट नेपाली राजनीतिको शिखर ब्यक्तित्व भएको चर्चा गर्दै थापाले निर्भिकतापूर्वक राष्ट्रबादी विचार, सोच, अडान र स्वाभिमान राख्ने स्वर्गीय विष्टको भावनाको महत्त्व धेरै भएको र आगामी दिनमा थप चर्चा हुन जरुरी भएको समेत बताए। नइ प्रकाशनले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र सम्बर्द्धनका लागि अटल प्रतिबद्ध भएकोले कमल थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।

Skip This
Skip This
Logo