राष्ट्रियसभाको बैठक सदा झै आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध कायमै राख्यो ।
राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेश तिमिल्सिनाले एमालेका मुख्य सचेतक खिमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।
मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र कुर्ची मोहका कारण मुद्दा दायर गरेको जनाउँदै त्यसको औचित्य अहिले आएर पुष्टि भएको दाबी गरे ।
भट्टराईले भने,“विगतको सरकारविरुद्ध गठबन्धनले अदालतमा मुद्दा हाल्दा जनमानसमा संविधानको रक्षाकै लागि हो कि भन्ने भान भए तापनि अहिले आएर प्रष्ट भएको छ ।”
उनले एमालेलाई कमजोर बनाउने तथा विभाजनकै निम्ति दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउँदै त्यसो नगरेसम्म गठबन्धनको राजनीतिक उचाइ नबढ्ने निष्कर्षसहित यस्तो काम गरिएको दाबी गरे ।
उनले वर्तमान सरकारले आयस्रोत नखोज्ने गरी कालो धनलाई सेतो बनाउने दिशातर्फ लागेको समेत आरोप लगाए । मुख्य सचेतक भट्टराइले केही समय अगाडि दार्चुलाका जयसिंह धामीको मृत्युका विषयमा सरकार मौन रहनुको कारणबारे प्रश्न उठाएका थिए ।
उनले गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीमा आइतबार सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको घटनाको भत्र्सना गरे ।
उक्त घटनाको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचारको व्यवस्था र मृतक परिवारलाई क्षतिपूर्तिको माग पनि उनले गरे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोगले भूमिहीनलाई लालपूर्जा वितरण गर्न लागेको समयमा आयोग खारेज गरी सुकुम्बासी बस्तीमा बर्बर दमन गरेर गम्भीर गल्ती गरेको आरोप लगाए । रासस





























प्रतिक्रिया