बलभन्दा बुद्धि ठूलो हुने भन्दै शिक्षित, सक्षम र राजनीतिक सँस्कार भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरमा बढ्दो छ।
‘बलभन्दा बुद्धि ठूलो हुन्छ भन्ने सर्वकालिक ज्ञानकै आधारमा पढे लेखेका, विवेकी, अध्ययनशील व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु छ,’ राप्रपा पाँचथरका सह–अध्यक्ष राजकुमार जोशीले विहीबार भने । ‘सक्षम, शिक्षित र विश्वसनीय पार्टीपंक्ति समयको माग हो। राजनीतिक सँस्कार अपरिहार्य आधार हो। पाँचथरको हकमा पनि सोही साश्वत सत्य स्वीकार गरौं, व्यवहारमा लागू गरौं।’
ढाँट र जालझेलले राजनीतिक लक्ष्य प्राप्त नहुने भन्दै जोशीले भने, ‘धेरै पात्रले धेरै पटक नेपाली जनतालाई झुक्याएका छन्। ठूला–ठूला नारा र सपना देखाएर जनतालाई धोका दिएका छन्। ढाँटेर, झुक्याएर, जाली कुरा गरेर कहीँ पुगिन्न भन्ने जगजाहेर छ। समाजको यथार्थ यही हो। पार्टीभित्रको सत्य पनि यही हो।’
विजया दशमी उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै नेता जोशीले यो विचार सार्वजनिक गरेका हुन्। महाधिवेशनबाट प्राप्त ऊर्जाले राप्रपा जनतामा स्थापित हुने उनको दावी छ।
उनले भने, ‘अब हुने महाधिवेशनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिकशक्तिको रुपमा उदय हुन्छ भन्ने जनचासो छ, हाम्रो अटल विश्वास छ। यसै सन्दर्भमा पाँचथरमा एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्नुछ । महिला, युवाहरूलाई पार्टीमा थप आकर्षण गर्नुछ।’
सन्देशमा जोशीले भने, ‘पाँचथरबासी दाजुभाई, दिदीबहिनीहरूमा बडा दशैंको मंगलमय शुभकामना। दुर्गा भवानीको प्रसादले हामी सबैको मनोकांक्षा पूरा होस्, सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्ने कामना गर्दछु।’































प्रतिक्रिया