निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

केन्द्रबिन्दु
0
Shares

तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण ताप्लेजुङ जिल्ला अन्धकार भएको छ। विद्युत् लाइन र संचार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकारमय भएको हो।

गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएका कारण ताप्लेजुङमा विद्युत् प्रवाहमा समस्या आएको विद्युत प्रविधिकरण ताप्लेजुङले जनाएको छ। बिजुली बत्ती नभएपछि सोमबारदेखि संचार सेवासमेत अवरुद्ध भएको छ।

विद्युत् नहुँदा यहाँ ल्यान्डलाइन, इन्टरनेट सेवा, मोवाइल सेवा अवरुद्ध भएको हो। साथै, विद्युत् नहुदाँ स्थानीय संचार माध्यमहरूको प्रसारण तथा प्रकाशनमा पनि समस्या आएको छ। इन्टरनेट सेवा बन्द भएसँगै विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरूका कार्यसम्पादनमा समस्या भएको छ।

मंगलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबारका साथै बैंकिङ कारोबारमा समेत समस्या भएको छ। ताप्लेजुङमा मोवाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र कंचनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नु परेको छ।

मोबाइल सेवा अवरुद्ध भएपछि जिल्लाबाहिरदेखि आउने तीर्थयात्री तथा पर्यटकहरू ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलमल परेर बसिरहेका छन्। यहाँ अझै पनि वर्षा जारी छ।

Logo