बागमती प्रदेशसभा बैठक २ घण्टा पछि सारियो, एमाले पनि सहभागी हुँदै

बागमती प्रदेशसभा बैठक २ घण्टा पछि सारियो, एमाले पनि सहभागी हुँदै

केन्द्रबिन्दु
0
Shares

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक २ घण्टा पछि ३ बजे बस्ने गरी सारिएको छ । एमालेको सहभागिताको लागि बैठकको समय सारिएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव उपर छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । समय सारिएपछि यसमा एमाले पनि सहभागी हुँदैछ ।

एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोध खेप्न नसकेका सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएका थिए ।

तर , मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै क्षीण रहेको छ । मतदानका लागि केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको बताइएको छ ।

एमालेका प्रदेशसभा सदस्य अरुण नेपालका अनुसार आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने जिकिर गरे ।

२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि तयारी भएका बेलामा एमालेले विश्वासको मत लिने समय धकेल्दै सत्ता लम्ब्याउन खोजेको आरोप विपक्षीहरुले लगाएका छन् । यसअघि बैठकमा मुख्यमन्त्रीमा शाक्य नै अनुपस्थित हुने हल्ला चलेको थियो ।

बाग्मतीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्छ । विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।

सरकार बनाउनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद छन् । प्रदेशसभामा विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।
 

Logo