स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन्। बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी हुँदै एसोसिएट राष्ट्र स्कटल्याण्ड र टेस्ट राष्ट्र बंगलादेश समूह 'बी'बाट क्रमश: विजेता र उपविजेताका रुपमा विश्वकपको सुपर १२ मा प्रवेश गरेका हुन्।
समूह 'बी'को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थान हात पारेको हो। जीतका लागि १२३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा जीत हात पार्याे। जीतमा कप्तान काइल कोट्जरले सर्वाधिक ४१ रनको योगदान दिए। म्याथ्यु क्रस २६ रनमा अविजित रहे।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली ओमान २० ओभरमा १२२ रनमा अल आउट भएकाे थियाे। ओमानका ओपनर अकिब इलायसले सर्वाधिक ३७ रन बनाए। स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा ३ विकेट लिए।
बिहीबार भएको पहिलो खेलमा बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो।
जीतका लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९ ओभर ३ बलमा ९७ रनमा अल आउट भएपछि बंगलादेशले सुपर १२ मा स्थान बनायो।
पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा सर्वाधिक ४६ रनमा अविजित रहे। बंगलादेशका सकिब अल हसनले ४ ओभरमा सर्वाधिक ४ विकेट लिए।
समूह 'बी' बाट स्कटल्यान्ड ३ खेलमा ३ जीतका साथ अपराजित रहँदै शीर्ष स्थानमा हो। बंगलादेश ३ खेलमा २ मा जीत र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह 'ए' मा स्थान बनाएको छ।
सुपर १२ को समूह 'ए' मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह 'ए'को विजेता र समूह 'बी' को उपविजेता बंगलादेश रहनेछन्।
समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी'\को विजेता स्कटल्यान्ड र समूह 'ए'को उपविजेता रहनेछन्।





























प्रतिक्रिया