एक वडा एक पार्क अभियानमा काठमाडौँ महानगर, एकै दिन दुई पार्कको शिलान्यास

एक वडा एक पार्क अभियानमा काठमाडौँ महानगर, एकै दिन दुई पार्कको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौँ महानगरपालिकाले आज एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको आज एकै पटक शिलान्यास गरेका हुन्। 

पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भैरहेको जानकारी दिए। ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ।’

उनले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताए। ‘गुठी संस्थानलाई हामीले कुत बुझाउँछौँ, तपाईँहरुले महानगरपालिकालाई लिजमा दिनुहोस्। त्यहाँ हरियाली पार्क निर्माण गर्छौं भनेर प्रस्ताव राखेका छौँ,’ प्रमुख शाक्यले भने, ‘व्यवसायिक भवन अहिले नीजि क्षेत्रबाट प्रयाप्त बनेका छन्। गुठीको जमिनमा व्यवसायिक भवनको आवश्यक छैन। त्यहाँ पार्क निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो।’ उनले ती जमिन गुठी संस्थानले लिजमा दिए संरक्षण गर्दै हरियाली कायम गर्ने बताए। 

काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनु पर्ने चुनौती रहेको बताए। ‘काठमाडौँको विशेषता अलग्गै छ। भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर,  देवता नै देवताले भरिएको छ,’ शाक्यले भने, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ। यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनु पर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ।’ 

उनले काठमाडौँको सौन्दर्य, सम्पदा र आत्मीयता अरुतिरको भन्दा फरक रहेको पनि दाबी गरे।  ‘यहाँ ७७ जिल्लाका नागरिक बसोबास गर्दै आएका छौँ। तर, सबैमा आत्मीयता छ,’ उनले भने, ‘त्यसैले अनेकतामा एकता कायम गर्न सक्ने विशेषता भएको महानगरपालिका पनि हो, काठमाडौँ महानगरपालिका।’  

काठमाडौँ भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा मात्रै करीब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताए। ‘हामीले साना–ठूला गरेर ५० बढी पार्क निर्माणको काम अघि बढाएका छौँ,’ उनले भने। 

कार्यपालिका सदस्य हीरादेवी पोखरेलले आफ्नो ठाउँमा विकास हुने सार्वजनिक निर्माणका लागि स्थानीयले खवरदारी गर्नु पर्ने बताइन्। अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने बताए।  

करीब ११ आना जमिनमा निर्माण दोभाव पार्क करीब ६७ लाखको लागतमा निर्माण हुनेछ भने  करीब चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करीब ९० लाखको लागतमा निर्माण हुँदैछ। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थिति थियो।

Logo