काठमाडौं ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइए पनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीन तर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।
चाडपर्व नजिकिंदै छ । व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ । तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।
बजारका व्यापारीहरु पनि मालवस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् । खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको सामान पनि केरुङ नाकामै रोकिंदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प र्याप्त सामग्री नहुँदा बजार भाउ पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् ।
काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भए पनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् । चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुन सक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।
नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै सामान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नु पर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।





























प्रतिक्रिया