नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार घर आँगनमा आइपुगेको छ। गाँउघरमा बारीका भित्ताहरुमा ढकमक्क फूलेका सयपत्री र मखमली फूलले तिहारको छुटै रौनक ल्याएका छन्।
तिहार फूलैफूलको पर्व भएकाले सयपत्री र मखमली फूलको प्रयोग सबैभन्दा बढी हुने गरेको छ। सयपत्री, मखमली र गोदावरीको माला भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई लगाइ दिने भएकाले बढी नै प्रयोग हुने गरेको छ। पछिल्लो समय प्रत्येक वर्ष फूलको माग पनि बढ्दै गएको छ।
फूलको माग बढे पनि नेपालमा नै उत्पादन भएको फूलले माग पुरा गर्ने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। नेपाली उत्पादनले लगभग बजार धान्न थालेपछि मुलुक फूलमा आत्मनिर्भर बन्दै गइरहेको हो ।

नेपालमा विगतका वर्षहरूमा ६० प्रतिशतभन्दा बढी फूल भारतबाट आयात हुने गरेको थियो। तर, पछिल्ला केही वर्षदेखि नेपालमा नै उत्पादन बढ्न थालेकाले नेपालमा उत्पादित फूलले नेपाली बजारको ९१ प्रतिशत बजार हिस्सा धान्न थालेको छ। बाँकी १० प्रतिशत माला भारतबाट आयात गर्नु पर्ने एशोसिएसनले जनाएको छ।
यो वर्षको तिहारमा करिव १८ लाखभन्दा बढी सयपत्री फूलको माला खपत हुने अनुमान एशोसिएसनले गरेको नेपाल फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनसार जसमा ३ लाख माला गोदावरी, मखमलीको र साढे १५ लाख सयपत्रीको माला खपत हुन्छ।

नेपालमा उत्पादन भएको फूलले १५ लाख ५० हजारभन्दा बढी माला उत्पादन हुने भएकाले नेपाल फूलमा आत्मनिर्भर बन्दै गइरहेको देखिन्छ।
नेपालमा गोदावरी फूलबाट मात्रै १५ हजारभन्दा बढी माला उत्पादन हुने गरेको छ। नेपाली बजारमा ३ लाख मखमली फूलको माला मागअनुसार पूर्ति हुने गरेको छ। एकदेखि डेढ लाखसम्म मखमली फूलको माला निर्यातसमेत हुने गरेको एसोसिएसनले जनाएको छ।
नेपालमा वार्षिक ३८ देखि ४० लाख वटा फूलका माला उत्पादन हुँदै आएको छ। वार्षिक १३ लाख ५० हजार माला मखमली फूल मात्रै उत्पादन हुने गरेको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष तामाङले बताए।
तर, पनि नेपाली उत्पादनले लगभग बजार धान्ने अवस्था भए पनि करिब २ लाख ५० हजार माला भने भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। तिहारमा अत्यधिक खपत हुने सयपत्री, मखमली फूल बेमौसमीरूपमा समेत व्यावसायिक खेती हुने गरेको छ। पछिल्लो बेमौसमी वर्षाका कारण २० प्रतिशत फूल बोटमै नष्ट भएको व्यवसायीले बताएका छन्।

काठमाडौं उपत्यकाका भक्तपुरको गुण्डुक्षेत्र, ललितपुरको धापाखेल, काठमाडौंको इचङ्गुनारायण, साँखु क्षेत्रमा मखमली तथा सयपत्री फूलको उत्पादन गरिँदै आइएको छ।
अध्यक्ष तामाङका अनुसार सयपत्री आयात गर्नुपर्ने भए पनि मखमली र गोदावरी नेपालकै उत्पादनले पुग्छ। सयपत्री भने हरेक वर्ष बाहिरबाट नै आयात गरिरहेको पनि उनले बताए। उनले भने,‘यो वर्ष तिहारमा साढे १५ लाख सयपत्री मालाको व्यवसायिक कारोबार हुने अपेक्षा गरेका छौँ। जसमा २ लाख ५० हजार माला अपूग देखिन्छ, जुन भारतबाट आयात हुन्छ।’
नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर हुन सके पनि सयपत्री फूलमा अझै भारतकै भर पर्नु पर्ने अवस्था रहेको अध्यक्ष तामाङले बताए। सयपत्री फूल आत्मर्निभरका हिसाबले उत्पादन गर्दा आन्तरिक बजारमा खपत नहुने भएकाले छिमेकी राष्ट्र भारतबाट आयात गर्नुपर्ने तामाङको भनाइ छ।

‘सयपत्री फूलमा आत्मनिर्भर हुन नसके पनि उत्पादन भने हरेक वर्ष बढिरहेको उनले बताए। सयपत्री फूलमा पनि आन्तरिक बजारले नै पुग्ने अवस्था आउने थियो। तर, कोरोनाका कारण सरकारले फ्लोरीकल्चर व्यवसायलाई अत्यावश्यक वस्तुभित्र नराखेकाले उत्पादन भएका विरूवा उत्पादन क्षेत्रमा लगाउन नपाउँदा नर्सरीमा नै मरेकाले उत्पादन घटेको अध्यक्ष तामाङ बताउँछन्।
यो वर्ष दशैं सकिएसँगै बेमौसमी वर्षाका कारण तराइ तथा लुम्बिनी प्रदेशका जिल्लामा फूलको धेरै क्षति भएको छ। फूलको क्षति भएका कारण पनि यो वर्ष विगतको भन्दा माला केही महँगो हुनसक्ने उनको भनाइ छ।
होलसेल बजारमा सयपत्री फूलको १ मिटर मालाको ५५ देखि ६० रुपैयाँ पर्छ। बजारमा धेरै माग बढेमा मात्रै मालाको मूल्य बढ्ने हो। उनले भने,‘तर, यो वर्ष तिहारमा मालाको मूल्य बढ्दैन। बढ्ने अवस्था पनि छैन। बढे पनि दोब्बर भएर बढ्दैन। ५ देखि १० रुपैयाँ बढ्न सक्छ।’
यता, अर्थमन्त्री जनार्दन शर्माले पुष्पखेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताएका छन्। अर्थमन्त्री शर्माले शुक्रबार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै यस्तो बताएका हुन्।
फूलमा मुलुक आत्मनिर्भरउन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न व्यवसायीलाई आग्रह गरेका छन्। अर्थमन्त्री शर्माले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गरे।
अर्थमन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको भन्दै उनले भने,‘कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र छ। तर, हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध छ। हाम्रो समाजमा जन्मिएका बेला फूलबाट स्वागत गरिन्छ, मृत्युपछि पनि यसैबाट विदाई गरिन्छ।’
२ अर्ब बढीको कारोबार हुने अपेक्षा
यो वर्षको तिहारमा २ अर्ब करोड रुपैयाँभन्दा बढीको कारोबार हुने एशोसिएसनले अपेक्षा गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ६३ करोडको रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।
जसमध्ये ३८ करोडको आयात मात्रै भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा २ अर्ब ४२ करोड बराबरको कारोबार भएको थियो। गत वर्ष एशोसिएसनले ३ करोड बराबरको निर्यातसमेत गरेको थियो।
यसरी वार्षिक कारोबारको आधारमा हेर्दा कोरोना महामारी भन्दा अगाडी ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको र १० प्रतिशत मात्रै आयातमा निर्भर रहेको थियो । तर,कोरोना महामारीपछि उत्पादन घटेकाले आयातमा बृद्धि भएको अध्यक्ष तामाङले बताए।
फूलको खेती नेपालमा प्रायः सबै जिल्लामा हुने गरेको छ। तर, केही शहरी क्षेत्रका जिल्लामा व्यवसायीक रुपमा खेती गरिने गरेको एशोसिएनले जनाएको छ।
विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भएको छ।
अहिले नेपालमा व्यवसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएको एशोसिएसनले जनाएको छ।
नेपाल फूलमा आत्मनिर्भर बन्न र नेपाली व्यवसायीले बजार धान्न भारतसँगको खुला सीमाबाट अवैधरूपमा आउने फूलको आयात रोक्नुका साथै भण्डारण गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुले सरकारसँग माग गर्दै आएका छन्।





























प्रतिक्रिया