बर्दिबासको ब्यस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ। कोही कपडा किन्न ब्यस्त छन् भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन्।
तर, सडकको एउटा कुनामा बसेर ढुङ्गा कुँदेर दिनमा ८ सय रुपैयाँ कमाउने गौशाला निगौलका १६ बर्षिय सुरजकुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै। थवइलाई एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरुले आफूले बनाएको जाँतो र सिलौटा किनिदिउन्।
ढुङ्गा कुदेर सिलौटा, जातो बनाउने सुरज मात्र हैनन् उनकी ५० बर्षिय आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ। कहिलेकाही उनीहरुले बनाएको सुन्दर जातो र सिलौटा महिनौंसम्म बिक्री हुँदैन। जातो, सिलौटा बेचेर नै जिविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौं छाक खानासमेत नखाएको नमिठो सम्झना छ।
बर्दिबासको पूर्व जाने पिपलको आडमा बसेर ढुङ्गा कुदै बिहान, बेलुका छाक टार्दै आएका उनीहरुको बस्ने कोठा पनि छैन। घुमन्ते, फिरन्ते जस्तै उनीहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन्। कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरी ढुङ्गा कुँदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ।
बिरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झण्डै १८ बर्ष व्यापार गर्यो। सरकार भूमिहिन, सुकुम्बासीहरुलाई जग्गा तथा लालपूर्जा वितरण गरेर भूमिपति बनाउने भाषण लगाएर थाकेको छैन।
तर यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै। नेपालको नागरिक भएतापनि पहिचानबिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनीहरु अहिले सर्लाहीको बागमती किनारबाट ढुङ्गा ल्याउँछन् अनि सुन्दर सिलौटा र जाँतो कुदेर बेच्ने पर्खाइमा बस्छन्।
हुन त थवइ परिवारको यो परम्परागत पेशा नै हो। सुरजका बुवा र हजुरबुवाले समाहाल्दै आएको सिलौटा र जातो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन्। तर समाज यान्त्रिकरण हुँदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन्, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन्। जस्को फलस्वरूप थवइ परिवारलाई जीवितकोपार्जन गर्न कष्टकर छ।
सुरज कि ५० बर्षिय आमा राधादेवीले २० वर्ष अगाडि यहि जाँतो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ।
उनका छोरा सुरजको पनि अन्य कुनै सीप छैन। कमाउन बाहिर पठाउन पैसा छैन। १६ बर्षिय सुरजलाई पनि यस्तै लाग्छ कि अब यो पेशावाट बाँच्न गार्हो छ।
२०५६ सालदेखि नै सरकारले भूमी आयोग बनाएर भूमिहिन, सुकुम्बासीहरुको लागि जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्यो तर लालपूर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरिवले न जग्गा पाए न लालपूर्जा नै। यतिसम्म कि सरकारबाट उनीहरुले सहानुभूतिसमेत पाउन सकेनन्।
कोरोना महामारीको पीडा सबैभन्दा बढी यहि बर्गले भोग्नुपर्यो। माहामारी कै कारण कयौं मजदूरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौं दिन भोकै बसे तर थवइ परिवार सधैं ओझेलमा नै परे।
कोरोना महामारीमा कयौं रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ। हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन्।न्युजकारखाना































प्रतिक्रिया