कैलालीको गौरीगंगा नगरपालिका र झापाको कनकाई नगरपालिका उपमेयर कप महिला राष्ट्रिय लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा गौरीगंगाले रोङ गाँउपालिका इलामलाई टाइब्रेकमा ३-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा गरिएको थियो।
दिनको अन्तिम तथा दोस्रो खेलमा कनकाईले कैलालीको गोदावारी नगरपालिकालाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
कनकाईको सहज जीतमा कुसुम खतिवडाले २ तथा इमा राईले १ गोल गरिन्। यससँगै उपमेयर कप महिला राष्ट्रिय लिग छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ।
यसअघिको खेलमा जीत निकाल्दै ललितपुर महानगरपालिका ललितपुर र धनगढी उपमहानगरपालिका कैलालीले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
अब सेमिफाइनलमा कनकाई र ललितपुर तथा धनगढी र गौरीगंगाबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल शुक्रबार हुनेछन्। फाइनल आइतबार हुनेछ।
प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन्। राष्ट्रिय लिगमा यस पटक आठवटा टोलीको सहभागिता रहनेछ।
उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।





























प्रतिक्रिया