आज दिनभरि भारी वर्षा, भोलिदेखि मौसममा सुधारको सम्भावना

आज दिनभरि भारी वर्षा, भोलिदेखि मौसममा सुधारको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशभर केही दिन यता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो।

मौसमविद् बरुण पौडेलले भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने बताए । ‘अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहन्छ। तर, शनिबारदेखि सुदूरपश्चिमबाट क्रमशः मौसममा सुधार आउँछ’, मौसमविद् पौडेलले भने, ‘धेरै ठाउँमा निरन्तर वर्षाको प्रभाव घट्दै जान्छ।’

पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ। त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषण पश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ।

नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० (असार ५) मा नेपालमा सुरु भएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो। नेपालसहित दक्षिण एसियाका लागि अंग्रेजी महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बर मनसुन अवधि हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार यता देशभर वर्षा भएको जनाएको छ। पछिल्लो २४ घण्टामा (बिहीबार साँझसम्म) सबैभन्दा धेरै भैरहवामा १०३.९ मिलिमिटर वर्षा भएको छ। सिमरामा ८०, विराटनगरमा ७४.७, पोखरामा ६९.५, काठमाडौंमा ५९.९ मिलिमिटर र अन्यत्र पनि दिनभर मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।अन्नपूर्णबाट

Logo