राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताएका हुन् । उनले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताए । अध्यक्ष महर्जनले १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको बताए । उनले विद्यार्थी नेताहरुले मन्त्रीहरुको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताए । अध्यक्ष महर्जनले सरकारको कूटनीतिका कारण जनता मारमा परेको बताए ।
अध्यक्ष महर्जनले भने, ‘हामी पीडामा परेका छौं । नेपाल आयल निगममा प्रवक्ता आउने कुरा गर्नुभयो, तर मेरो विचारमा आउँदैन होला । आयल निगमलाई अहिले जनतासँग फेश गर्ने अवस्था छैन । १२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो, यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य ४ डलर घटेको छ, अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नुभयो, धेरै घाटा भयो भनेर मूल्यवृद्धि बढाइयो । यो गलत हो, भारतीय बजारमा मूल्य बढ्यो अरे, के नेपाल भारतको सिक्किम जस्तो अंग हो र ? भारतसँग मूल्य दाँज्नुको अर्थ नै छैन । ६ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थमा लगाएको अन्तःशुल्क हटाइदिए, त्यहाँ अहिले प्रति लिटर २३ रुपैयाँ घटाइयो । यता आयल निगमले चाहीँ खालि एकोहोरो रुपमा अन्तर्राष्ट्रिय भाउ बढ्यो भनेको छ । अनि खाली आयल निगम डुब्यो भनेको छ । सुब्बा, खरदारले अफिसको मोटरसाईकल चढ्छ । तर, दैनिक १०५ रुपैयाँ यातायात सुविधा पनि लिन्छ । आयल निगमको कर्मचारी त शेखहरु भएका छन्, नेपालमा शेखहरु खोज्न कहीँ जानुपर्दैन्, आयल निगम गए हुन्छ, सरकारको कूनीतिको कारण आज हामी जनता मारमा पर्नुपरेको छ, विद्यार्थी आन्दोलित हुनुभयो, यो खुशीको कुरा हो । तपाईँहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने भोलि नै मूल्यवृद्धि घट्छ ।’
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताए । उनले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिए ।
महासचिव सिटौलाले भने, ‘नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अगाडि आयो, सवारी चल्न सक्दैनन्, मूल्यवृद्धि अविलम्ब ढंगबाट फिर्ता हुनुपर्छ, यदि माग फिर्ता भएन भने यसको कठार ढंगबाट नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले पनि निर्णय गर्छ, अहिले आयल निगमले गरेको मूल्यवृद्धि तत्काल हट्नुपर्छ, गाडी पानीले चल्दैन, भाडादर बढ्छ, लुकाएर कुरा हुँदैन । आयल निगमलाई देशका राजनीतिक दलहरु आफैँले चलाएका छन् ।’
महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाएका छन् ।





























प्रतिक्रिया