ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेसँगै महिला खेलाडी उत्साहित

ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेसँगै महिला खेलाडी उत्साहित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएका छन् । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले राम्रो सुरुआत भएको प्रतिक्रिया दिएका छन् ।
भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै २० दिनपछि मंगलबार चितवनमा सम्पन्न भएको छ । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए । योसँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिवृद्धिका लागि महिला खेलाडीलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताइन् । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा समेत उनले व्यक्त गरिन । त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एशियमा नै बलियो टोलीका रुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपाली महिला टोली उपेक्षामा पर्दै आएको छ । न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुत महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिसकेको छ । कप्तान रुबिनाले भने जस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरी महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

अन्तर्राष्ट्रिय नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को लामो प्रतिबन्धपछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा उचित ध्यान दिनुपर्ने बताइन् । पछिल्लो सयमा नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम भने छैन् । मौका र यथेस्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कुनै शंका छैन ।

Skip This
Skip This
Logo