सर्लाहीको भालुखोपका स्थानीयले पानीको व्यवस्थित मुहान नपाउँदा वर्षौँदेखि काकाकुलको जीवन बिताइरहेका छन् ।
लालबन्दी नगरपालिका–१२स्थित चुरेको शृङ्खला अवस्थित गाउँ भालुखोप एक मगर समुदायको पुरानो बस्ती छ । २०२२ सालको नापीदेखि उनीहरूले उक्त स्थानमा जोत भोग गर्दै आएका छन् । अत्यन्त विपन्न समुदायको बसोबास रहेको उक्त बस्तीमा पानीको चरम अभाव रहेको स्थानीय बताउँछन् ।
१०० घरधुरी रहेको गाउँको बीचमा एउटा मात्र कुवा छ । त्यसले पनि वर्ष भरी गाउँलाई पानी पुर्याउन सकेको छैन । पानी समस्या समाधान गर्न कसैले ध्यान नदिएको स्थानीय कृष्णबहादुर जर्गाले बताए । ‘हामीले यहाँ पेट भरी पानी पनि पिउन पाएका छैनौँ’, उनले भने, हाम्रो समस्या कसले बुझ्ने, बर्सेनि आधा वर्ष त छटपटाएर बिताउँछौँ ।
गाउँलेहरूले पानी पिउने गरेको एक मात्र कुवा प्राय मंसिर महिनाबाट सुक्छ । त्यस पनि झनै दुःखको दिन सुरु हुने स्थानीय सीता मगरले बताइन् । ‘त्यसपछि कहिले कता, कहिले कता गएर तिर्खा मेटाउनु पर्छ’, उनले भनिन्, ‘पानी खोज्दै लखन्देही खोलादेखि घण्टौँ हिँडेर कोसौँ टाडाको छिमेकी गाउँसम्म पुग्छौँ ।’ गाउँमा पानीको समस्या हुँदा खानेपानी खोज्दै कोसौँ टाढाको छिमेकी गाउँसम्म पुग्छन् उनीहरू ।
गाउँको कुवा सुकेपछि उनीहरू दैनिक तीनदेखि चार घन्टाको पैदल हिँडेर करिब चार किलोमिटर तल लखन्देही खोलाको धमिलो पानी ल्याउने गरेको मनिषा मगरले बताइन् । हिउँद लागेपछि घरमा पालेको पशु चौपायाले पनि मुस्किलले पानी खान पाउने गरेको अर्का स्थानीय भक्तबहादुर पुलामीले गुनासो गरे ।
नगरपालिकाले बर्सेनि खानेपानीको लागि भनेर रकम छुट्याएको भए पनि उक्त बजेट प्रयोग हुन सकेको छैन । विभिन्न कारणले गर्दा काम गर्न समस्या भएको लालबन्दी नगरपालिका–१२का वडा अध्यक्ष दुर्गाबहादुर आलेले बताए ।
चुरेको भौगोलिक संरचना भएका कारण पनि आधारभूत सेवा पुर्याउन समस्या भएको आलेको भनाइ छ । पछिल्लो समय रुख बिरुवा कम हुँदै गरेको तथा मौसम परिवर्तनले समेत पानीको मुहान सुक्दै जाँदा समस्या देखिएको उनले बताए । न्युज कारखाना































प्रतिक्रिया