सुरक्षाकर्मी नै खटिए संस्थागत जनगणनामा

सुरक्षाकर्मी नै खटिए संस्थागत जनगणनामा

केन्द्रबिन्दु
0
Shares

संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रूपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रूपमा परिचालन गरेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोइराला ९जेबी०ले बताए ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरी कै एक जना जवानलाई खटाएको छ । यस्तै, सशस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका सशस्त्र प्रहरीको जनगणनाका लागि सशस्त्र प्रहरीकै जवानलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाको गणभित्रको जनगणना पनि सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोइरालाले बताए । 

जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरी कै जवानलाई दिएको छ । यस्तै, कृषि विज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको सुभद्रा–मदन फाउन्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक(विद्यार्थीको गणनाका लागि सशस्त्र प्रहरीको जवानलाई खटाइएको छ । संस्थागत जनगणना गर्ने सुरक्षाकर्मीलाई पनि अन्यलाई सरह नै तालिम दिएको कोइरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तर्गत गणना गर्ने व्यवस्था छ । 

२५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि खोटाङमा दुई सय ९० गणक खटाइएको छ । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मुख्य प्रश्नावलीमार्फत सुरु गरिएको जनगणना अधिकारी कोइरालाले बताए ।

Logo