चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४औ चरणको वार्ता हुने भएको छ । दुवै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को बिहीबारको भर्चुअल बैठकपछि पूर्वी लद्दाखमा तनाव अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो ।
‘पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औँ चरणको वार्ता हुनेछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार सम्पन्न बैठकमा दुवै पक्षले १० अक्टोबरमा कमान्डर तहमा भएको सीमा बैठकपछि विकसित घटनाक्रमको समीक्षा गरेका थिए ।
प्याङगोङ तालनजिक दुवै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो ।
यसैबीच, सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण सार्वजनिक भएको छ । चीनको सैन्य विकाससम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा चीनले भारत र भुटानको सीमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरू बनाएको देखिएको हो ।
सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ ।





























प्रतिक्रिया