काठमाडौं ।
रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए।
उनका अनुसार बुधबार पहिलो पटक बिसिजी लगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । खास गरेर नाकाका केही श्रमिकलाई कोभिड–१९ सङ्क्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उनले जानकारी दिए।
“केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”, उनले भने ।
चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो
रसुवागढी नाकाबाट बुधबार अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।
आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए।
अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।रासस





























प्रतिक्रिया