हुम्लामा अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरू

हुम्लामा अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरू

केन्द्रबिन्दु
0
Shares

सिमकोट अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता शनिबार दिउँसोबाट सुरु भएको छ।

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सुरु भएको हो। योङ स्टार क्लबको आयोजनामा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष रबिन कुमार बस्नेतले बताए।

प्रतियोगितामा सिमकोटबाट एक, खार्पुनाथबाट दुई, सर्केगार्डबाट तीन, चंखेलीबाट एक र अदानचुली गाउँपालिकाकाे एक वटा टिम गरी आठ वटा टिम पुरुषतर्फ सहभागिता रहेको छ। नाम्खा र ताँजाकोट गाउँपालिकाको भने सहभागिता रहेको छैन।

प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले संयुक्तरूपमा गरेका थिए।  पुरुषतर्फ विजेता टिमले २ लाख नगद रुपैयाँ र ट्रफी पाउने छ भने उपविजेता टिमले १ लाख रुपैयाँ पाउने छ।

महिलातर्फ पनि सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेली गाउँपालिकाको सहभागिता रहेको छ। महिलातर्फ भने विजेता टिमले पचास हजार र उपविजेताले तीस हजार पुरस्कार पाउने छन्। पुरुष तथा महिला भलिबल प्रतियोगिता लिग चरणका हुने भएका छन्।

प्रतियोगिता पाँचदेखि छ दिन सञ्चालन हुने आयोजकले जनाएको छ। क्लबको आयोजनामा यसअघि नौ वटा संस्करण सञ्चालन भइसकेको छ।

Logo