नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आसन्न १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
उनले आइतबार रिपोर्टर क्लबमा उम्मेदवारी घोषणाको औपचारिक कार्यक्रम आयोजना गर्दै उक्त कुराको जानकारी दिएका हुन्।
रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् । 'अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,' उनले भने ।
पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन्।
'मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन। पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन। कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन। यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु,' उनले भने ।































प्रतिक्रिया