मलाई डाक्टरले लड्न हुँदैन भनेका छन्: केपी ओली

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन्: केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् । 

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् । 

दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’

खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए । 

बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयोग गर्छ

त्यस्तै उनले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताएका छन् । 

सोही कार्यक्रममा बोल्दै उनले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने काम गर्ने बताए । 

‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रहिछ, नचलेको हात चलाउँदो रहिछ, दुखेको ढाडलाई निको बनाउँदो रहिछ’, उनले भने, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’ 

मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उनले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन खेल र व्यायामले सहयोग गर्ने बताए ।

यसर्थ खेल मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको उनको भनाइ छ । 

गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास भएन

त्यस्तै ओलीले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास नहुन नसकेको बताएका छन् । 

उनले आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र बासको व्यवस्थामा बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्थाले खेल क्षेत्रको विकास हुन नसकेको बताए । 

‘कागको जस्तै नेपालीको बिहान उठेदेखि नै गाँस र बासको व्यवस्था ध्यान दिनुपर्ने अवस्था छ’, उनले भने, ‘जसले गर्दा आफ्नो क्षेत्रमा बढी समय दिन नसक्दा खेल क्षेत्र पनि विकास हुन नसकेको हो ।’ 

आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै उनले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । 

हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले विद्यालय तहबाट पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिए । 

Skip This
Skip This
Logo