प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरेका छन् । आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पारेका हुन् ।
गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलि कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिएका छन् ।
प्रवक्ता ज्ञवालीले भने, ‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजन देखि लिएर अरू विभिन्न क्षेत्रहरू सञ्चार माध्यामहरुमा बाह्य लगानीलाई पूर्ण रूपले निषेध गरिएको छ । अव कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नु भयो । त्यो हामीले बुझेका छैनौँ । दोस्रो नेपालमा लगानीका निम्ति निश्चित माध्यामहरु छन् । त्यसका लागि उद्योग विभाग अन्तरगत वान स्टप सर्भिसहरू छन् । त्यसका निम्ति इन्भेस्टमेन्ट बोर्ड छ । बाह्य लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाहिँ हाम्रा निश्चित नियमहरू छन् । कुनै एक जना व्यक्तिको सस्तो लोकप्रियताको निम्ति म तपाईँलाई यो सुविधा दिन्छु भन्दैमा ती कुराहरू भइहाल्छ जस्तो लाग्दैन । किनकि त्यो कानुनसम्मत हुन जरुरी हुन्छ । नेपालमा विदेशी लगानी आउने कुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ । त्यसो भएर पारदर्शी, विधिसम्मत र नेपालको प्राथमिकताको क्षेत्रमा आउने लगानीलाई हामी स्वागत गर्छौँ । तर कानुन विपरीत नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले त्यसरी आउने कुरा चाहिँ हुँदैन । अव त्यसको बारेमा सबै डिटेल आएपछि छलफल गर्छौँ । जहाँसम्म नेपालको सञ्चार क्षेत्र हो । सञ्चार माध्यामहरुमा बाह्य लगानी चाहिँ निषेध गरिएको ब्यहोरा यहाँहरूलाई जानकारी गराउँदछु ।’
प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रूपमा छलफल गर्ने जानकारी समेत दिएका छन् । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरूले सधैँ स्वागत गर्ने बताएका छन् । प्रवक्ता ज्ञवालीले पार्टीको दसौँ महाधिवेशनमा नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताए । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरूलाई नेतृत्वमा चयन गर्ने उनको भनाई थियो ।
प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढ्न पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराएका छन् ।





























प्रतिक्रिया