काठमाडौं ।
सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ ।
सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको हो । सञ्चार सम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायी हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले अलाइन्सको गठन भएको हो ।
अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलाइन्सको स्थापना भएको बताए। सञ्चार नीति अभावमा २० अर्ब बढीको लगानी भएको क्षेत्र टुहुरो बन्न पुगेको उनले बताए। उनले एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताए।
अलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकता भन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने तर्फ ध्यानाकर्षण गराए । सहजरुपमा सञ्चार माध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यवसायीक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको बताए।
इमेज च्यानलका अध्यक्ष आर के मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रीत पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताए । सञ्चार माध्यम चल्न धौ धौ परेको बेला थपिएको दायित्वले सञ्चार माध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमुलक संस्थाले संरक्षण गर्न प्रदान गर्न नसक्नु दुःखद भएको बताए। अलाइन्सले विगतका प्रतिनिधिमुलक संस्थाले गरेका कमि कमजोरी सच्याएर अगाडि बढ्नेमा सफल हुने विश्वास उनले व्यक्त गरे ।
एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहेका छन् । इमेज च्यानल प्रालिका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषाध्यक्ष रहेका छन् ।
सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइम टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ संमृद्धी ज्ञवाली रहेका छन् । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली रहेका छन् ।































प्रतिक्रिया