अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ।
कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ।
नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको बिबिसीले उल्लेख गरेकाे छ ।
यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन्। पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाएकाे बिबिसीले जनाएकाे छ ।
चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजारपटक झुट बोले पनि त्यो झुट नै हुने बताए।
सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे। ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ।





























प्रतिक्रिया