च्याउले बजार पाएन

च्याउले बजार पाएन

केन्द्रबिन्दु
0
Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ । 

पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भङ्गरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताए । उक्त वर्ष ४७ केजी च्याउ उत्पादन भएको थियो । 

यसवर्ष भने रहर लाग्दो गरेर च्याउ उत्पादन भएको छ । मुढामा फलेका च्याउले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरु निराश बनेका छन् । बजार नपाएपछि किसान आफैले च्याउ उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सिताके च्याउले बजार पाउन नसकेको खनालले बताए । “मेहनेत गरेर च्याउ फलायौँ । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । तर बजार पाउन सकेको छैन”, उनले भने ।

सिताके च्याउको मूल्य महँगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरुमा  ७ सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । “बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी गरेका छौं”, उनले भने “यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न सकेका छैनन् ।”

यो वर्ष असोज अन्तिमयता २०० केजी बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले किसानलाई सताएको छ । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ । 

सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आशङ्का गर्दै ग्राहकले खरिद गर्न नखोज्ने किसान समूहका सचिव खेम गुरुङले बताएका छन् । “पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरुले पनि किन्लान नी भन्ने आशा पलाएको छ”, उनले भने “पार्टी प्यालेस, होटल, रेष्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास गरेका छौ ।”

किसानले च्याउ खेतीमा हालसम्म झण्डै पाँच लाख रुपैयाँ लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ कार्यालयले बीउ खरिदमा गत आर्थिक वर्षमा  ५० हजार रुपैयाँ अनुदान दिएको थियो । त्यसका लागि समूहमा आवद्ध किसानले  ४८ हजार रुपैयाँ लगानी गरेका थिए । बाङ्गेरह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निःशुल्क दिएको छ ।

तार्कुडाँडा भङ्गरा खानेपानी उपभोक्ता समितिले निःशुल्क आवश्यक पानी उपलब्ध गराएको छ । कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । “स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदान भन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ”, उनले भने ।

किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एक पटक मुढामा बीउ रोपेपछि पाँच वर्षसम्म अर्थात मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।

Skip This
Skip This
Logo