लाभांश प्रस्ताव पारित गर्न गणपतिले बोलायो १७ पुसमा साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न गणपतिले बोलायो १७ पुसमा साधारणसभा

केन्द्रबिन्दु
0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ पुसमा साधारणसभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टी प्यालेस दुलेगौंडा, तनहुँमा पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो। 

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। अन्य लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनका लागि लघुवित्तले ९-१६ पुससम्म बुकक्लोज गर्ने भएको छ। यसर्थ, ६ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ छ। १९ प्रतिशतका दरले दुई करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार ५३२ रुपैयाँ ५० पैसा पुग्नेछ।

Logo