चितवन।
गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौरहाका होटल तथा रेष्टुरेन्टहरु हिजो आज खोल्ने तयारीमा छन् । व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएका छन् । जसका कारण फेरि पनि पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ । चितवनको सौरहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पुरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौरहाका अध्यक्ष दिपक भट्टराईले बताए। तत्काल पर्यटकहरु आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटल सुचारु गर्न लागिएको उनले बताए । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्ने समेत भट्टराईको भनाई छ ।
बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिंदै गरेकाले केही आन्तरिक पर्यटक आउने आशमा सौरहाका व्यवसायी रहेका छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवसायीहरुले बताए । होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफूहरु व्यस्त रहेको बताए। उनले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताए।
चितवनको सौरहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौरहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्णरुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सूचारु गर्न लागिएको व्यवसायीहरु बताउँछन् ।































प्रतिक्रिया