मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएन

मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएन

केन्द्रबिन्दु
0
Shares

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिए पनि मावन अधिकार उल्लङ्घनका घटनामा कमी आएको छैन।

रुकुम–पूर्वमा मात्र पछिल्लो पाँच वर्षको अवधिमा ६७ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम–पूर्वको तथ्याङ्कअनुसार जिल्लामा आव २०७४/७५ मा यौनजन्य महिला हिंसाका घटना एक, आव २०७५/७६ मा १३ वटा, आव २०७६/७७ मा आठ वटा, २०७७/७८ मा ६ वटा र चालू आवको हालसम्म तीन वटा मुद्दा दर्ता भएका छन्। 

यस्तै पछिल्लो पाँच वर्षमा मात्रै ३० वटा ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता भएका छन्। आव २०७४/७५ मा एउटा, २०७५/७६ मा आठ वटा,  २०७६/७७ मा १२ वटा, २०७७/७८ मा सात वटा र चालु आवमा दुई वटा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सोही अवधिमा छ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका घटनाको मात्रै विवरण राख्ने गरिएको छ। सानो जिल्लामा यति धेरै घटना हुनु दुःखद् रहेको अधिकारकर्मीहरुले बताएका छन्। 

जिल्लामा अन्य पनि धेरै मानव अधिकार उल्लङ्घनका घटना घटिरहेका छन्। जातीय विभेद, बोक्सीको आरोपलगायत घटना पनि हुने गरेका छन् तर प्रहरी कहाँ पुग्न सकेका छैनन्। ग्रामीण भेगका सर्वसाधारण अझै पनि न्यायको ढोकासम्म पुग्न समस्या झेलिरहेका छन्। उनीहरुले हिंसा सहन बाध्य भएका छन्। विशेषगरी धेरैजसो अपराधका घटना हुनुमा लागुऔषध, मदिराजन्य पदार्थ सेवन नै रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए। 

उनका अनुसार सर्वसाधारण सबैमा कानूनसम्बन्धी चेतना र ज्ञान नहुँदा पनि यस्ता घटना हुने गरेका छन्। यस्ता अपराधका घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालयलगायत मातहतका प्रहरी युनिटबाट जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक  श्रेष्ठले जानकारी दिए।

Skip This
Skip This
Logo