खोपप्रतिको त्रासः कोही रुखमा चढ्छन्, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

खोपप्रतिको त्रासः कोही रुखमा चढ्छन्, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

केन्द्रबिन्दु
0
Shares

भारतमा खोप बोकेर स्वास्थ्य कार्यकर्ता घरघरमा पुग्दा सर्वसाधारण भने भाग्न थालेका छन्। यही डिसेम्बरभित्र सबैलाई कोभिड खोप लगाउने लक्ष्यसहित सरकारले तेलंगना राज्यमा सर्वसाधारणको घरघरमा स्वास्थ्यकर्मी खटाएको छ। तर, कतिपय व्यक्ति भने खोप लगाउन अनिच्छा मात्र देखाएका छैनन्, स्वास्थ्यकर्मी देखेपछि अस्वभाविक व्यवहार देखाउन थालेका छन्। स्वास्थ्यकर्मी देखेपछि कसैले ढोका लगाएर लुक्न थालेका छन् भने कोही रुखको टुप्पोमा पुगेर खोपबाट ‘बच्न’ खोजेका छन्।

राज्यको सांगारडे जिल्लामा कोभिड खोपबाट जोगिन एक व्यक्ति रुखको टुप्पोमा चढेका छन्। स्वास्थ्यकर्मीको टोली घरमा आएपछि जिल्लाको रेजिन्थाल गाउँका घोउसुद्दिन घरनजिकैको रुखमा चढेका हुन्।

बाबु सर्दार अली र परिवारका अन्य सदस्यले खोप लगाउन कर गरे पनि ३३ वर्षीय घोउसुद्दिनले खोप लगाउन इन्कार गरेका थिए। स्थानीयले खोप लगाउन दबाब दिएपछि उनी आत्तिदै रुख चढेका थिए। साक्षीका अनुसार उनी एक घन्टासम्म रुखमा बसेका थिए र स्वास्थ्य कार्यकर्ता बाटो लागेपछि झरेका थिए।

त्यस्तै, अर्को एक घटनामा सांगारडे जिल्लाको अर्को एउटा क्षेत्रमा मानिसहरुको एउटा समूहले खोप लगाउन अस्वीकार गरेको छ। घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन्। केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ। 

त्यसैगरी सोही जिल्लाको नाल्साबागडा क्षेत्रमा स्थानीय र स्वास्थ्यकर्मीबीच झडप भएको छ। स्वास्थ्यकर्मीले खोप लगाउन गरेको आग्रह स्थानीयले अस्वीकार गरेपछि सामान्य विवादपछि हात हालाहाल भएको थियो। सरकारले तेलंगनामा सवै सर्वसाधरणलाई खोप अनिवार्य गरेको छ। 

यसैबीच, खोप लिएर सर्वसाधारणको घरमा पुगेका कर्मचारीलाई हातपात गर्ने व्यक्तिलाई मुद्दा चलाउन स्थानीय सरकारले प्रहरी प्रशासनलाई आदेश दिएको छ। 

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। खोप अभियानलाई तीव्रता दिएसँगै संक्रमितको संख्या पनि घटेको स्वास्थ्य विज्ञहरुले दाबी गर्दै आएका छन् ।एजेन्सी

Logo