नेपाल स्काउटको तदर्थ समिति अध्यक्ष लोकबहादुर भण्डारीले अबको आफ्नो प्राथमिकता स्काउटको निर्वाचन गराउनु रहेको बताएका छन्।
सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनःबहाली गरेपछि आइतवार नेपाल स्काउट तदर्थ समिति संयोजकको रुपमा कार्यभार सम्हाल्दै भण्डारीले अब आफ्नो पहिलो प्राथमिकता स्काउटका सबै स्थानिय तह, प्रदेश तह र केन्द्रको निर्वाचन गरी संगठनलाई अगाडि बढाउनु रहेको बताएका हुन्। उनले प्रत्येक स्थानिय तहका विद्यालयहरुमा स्काउट अभियान पुग्ने बताए। विश्व स्काउटको मूल्य, मान्यता अनुरुप विद्यालय तहमा स्काउट शिक्षा सञ्चालन गर्न आफ्नो भुमिका हुने उनले स्पष्ट पारे।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त (२०७५ पुस २२ गते) गरेका संयोजक भण्डारीलाई वर्तमान सरकारले (२०७८ असोज १० गते) हटाएपछि उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले संयोजकमा भण्डारीलाई कायम राख्नका लागि अन्तरिम आदेश जारी गरेसँगै आइतवार नेपाल स्काउटको कार्यालयमा पुगेर कार्यभार लिएका हुन्।
उनले सर्वोच्चले अन्तरिम आदेश दिनुले स्काउट वैधानिक ढंगले अघि बढेको कुरा प्रमाणित भएको बताए। राज्य विधिसम्मत्, कानूनसम्मत् र संविधानसम्मत् ढंगले सञ्चालन भएको महशुस भएको पनि उनले उल्लेख गरे। वर्तमान सरकारले बिराटनगरका रबिन दाहाललाई अघिल्लो हप्ता (मंसिर १९ गते) नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति संयोजकमा नियुक्त गरेको थियो। रबिन दाहालले राष्ट्रिय तदर्थ समिति संयोजकको पदको शपथ लिएकै दिन सर्वोच्च अदालतले पूर्वअध्यक्ष भण्डारीलाई पूर्ववत् अवस्थामा काम गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो।





























प्रतिक्रिया