केही दिनयता घटिरहेको सेयर बजार नीति निर्माताको ‘मनपरी’ अभिव्यक्तिले झनै प्रभावित बनेको छ । आइतबार र सोमबार सेयर बजारमा भारी अंकले गिरावट आउनुमा माओवादी केन्द्रका नेताहरूबाट आइरहेका अभिव्यक्तिलाई औंल्याइएको छ । आइतबार करिब ९० अंक घटेको सेयर बजार सोमबार करिब ८० अंक घटेर २ हजार २ सय ८१.६७ बिन्दुमा ओर्लेको छ । यो करिब एक वर्षयताकै न्यून बिन्दु हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई अनुत्पादक र साम्राज्यवादको विकसित रूप भनेर गत शनिबार टिप्पणी गरेका थिए । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बजार हल्लाको भरमा चलेको र त्यसमा एउटा जमात् नै लागेको बताएका थिए । पहिले पनि नेताहरूले गरेको टिप्पणीका कारण सेयर बजारमा उतारचढाव आउने गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका संयोजक अम्बिका पौडेलले नीति निर्माण तहमा रहेका जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवार रूपमा बोलिदिँदा बजार प्रभावित हुने गरेको बताए ।
‘बजारबारे केही ज्ञान भएका मानिस राजनीतिक दलका शीर्ष नेताहरूसँग निकट छन्, उनीहरूले सेयर कारोबार गर्दैनन् । नीति निर्माता र प्रशासकले भने उनीहरूबाट सेयर बजारबारे जानकारी लिन्छन् र त्यसैलाई पूर्ण मानेर बोलिदिन्छन् । तर त्यो अपूर्ण हुन्छ,’ उनले भने, ‘यथार्थ नबुझी बोलिदिँदा प्रभावित हुने गरेको छ ।’
बुझेर लागेका लगानीकर्ताले सेयर कारोबारलाई पेसाका रूपमा लिएका छन् । उनीहरूले नाफा कमाएको नीति निर्माताले देख्न नसक्ने भएकाले स्थापनाको तीन दशकसम्म पनि पुँजी बजार शिशु अवस्थामै रहेको पौडेलको भनाइ छ । नीति निर्माताले ठूला लगानीकर्ताको विरोध गरेकै कारण बजारमा साना लगानीकर्ताको बिचल्ली भएको उनले बताए ।
‘सेयर कारोबारलाई पेसा बनाएका लगानीकर्ताले ठूलो परिमाणमा कारोबार गर्छन् । उनीहरू सचेत र सजग हुन्छन् । जब नीति निर्माताबाट बजारमा असर गर्ने खालका सूचना आउँछन्, उनीहरू कि संकुचित भएर बस्छन्, कि बजारबाट बाहिरिन्छन्,’ उनले थपे, ‘यसको प्रत्यक्ष असर बजारमा पर्छ । यस्तो अवस्थामा साना लगानीकर्ताले मात्र बजार थाम्न सक्दैनन् । उनीहरूको बिचल्ली हुन्छ । अहिलेको अवस्था त्यही हो ।’
माओवादी अध्यक्ष दाहालले शनिबार प्र्रदेशहरूको सम्मेलन उद्घाटन समारोहमा सेयर बजारको लगानी अनुत्पादक रहेको र यसले सीमित पुँजीपति वर्गलाई लाभ पुगेको अभिव्यक्ति दिएका थिए । ‘आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, पुँजीमै हुन्छ । यो वित्तीय पुँजीवादको मुख्य विशेषता हो,’ उनले भनेका थिए, ‘हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन् ।’
वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने, नाफा एकीकृत गर्ने र संसारका सीमित पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने तिनको उद्देश्य रहेको दाहालको भनाइ थियो । उनको अभिव्यक्तिबाट बजार प्रभावित भएको भनेर चौतर्फी विरोध भएपछि सोमबार माओवादी केन्द्रको सचिवालयले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको जनाएको छ । सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष दाहालले आफूले सैद्धान्तिक रूपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्याएका छन् ।कान्तिपुरबाट





























प्रतिक्रिया