फिदिम नगर कपको उपाधि रेडस्टारलाई

फिदिम नगर कपको उपाधि रेडस्टारलाई

केन्द्रबिन्दु
0
Shares

झापाको रेडस्टार फुटबल क्लब विर्तामोडले फिदिम नगर कप फुटबल प्रतियोगिता–२०७८ को उपाधि जितेको छ।

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै रेडस्टारमा उपाधि जितेको हो।

पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित बराजु खेलमैदानमा सञ्चालन भएको उक्त प्रतियोगिता अन्तर्गत शनिबार आयोजित फाइनल खेलमा रेडस्टारका लागि मिलन राई, रोहन कार्की र सरोज कार्कीले गोल गरेका थिए। 

मिलन राईले १८औं मिनेटमा गोल गर्दै रेडस्टारलाई अग्रता दिलाएका थिए। त्यसपछि रोहनले २५औं तथा सरोजले ३०औं मिनेटमा गोल गरेका थिए। रेडस्टारले पहिलो हाफमै ३–० को अग्रता कायम गरेपछि दबावमा परेको ताप्लेजुङ दोश्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सक्षम भएन। 

फाइनल खेलको म्यान अफ दी म्याच रेडस्टारका मिलन राई, उत्कृष्ट डिफेन्डर रेडस्टारकै विशाल खवास, उत्कृष्ट गोलरक्षक रेडस्टारकै राजकुमार लिम्बू घोषित हुँदै पुरस्कृत भए। यस्तै ताप्लेजुङका अनुप सेन्दाङ उत्कृष्ट खेलाडी, चर्च ब्वाइज क्लब काठमाडौंका सोम मगर सर्वाधिक गोलकर्ता घोषित भई पुरस्कृत भए। 

उपाधि जितेसँगै रेडस्टारले रु. १ लाख ५० हजार तथा उपविजेता ताप्लेजुङले रु. ८० हजार पुरस्कार प्राप्त गरे। स्वतन्त्र क्लब रानीटारको आयोजना, रानीटार युनाइटेड क्लब रानीटारको सहआयोजना र फिदिम नगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता आयोजना भएको थियो। 

विजेता तथा उपविजेता समूह तथा खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, फिदिम वडा नं. ७ का वडाध्यक्ष गोपालप्रसाद गुरुङ, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए। तेश्रो संस्करणको उक्त प्रतियोगितामा भारतको एकसहित नौ वटा फुटबल टोलीले सहभागिता जनाएका थिए। 

Skip This
Skip This
Logo