नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संसद्मा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उच्चो बनाउनु रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसद्मा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दाबी गरे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उनले एमालेले संसदबाट आफूहरूलाई हटाउन दबाब दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलब छैन । नेपाली जनताको सातो कायम रहनु पर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिस्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ । हाम्रो ध्येय यही नै हो । केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रूपान्तरण भएको कथित नेकपा (एमाले) त्यो हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ । उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिन भनेको छ । तर कस्तो संयोग, नेपाली काँग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानु परेको छ । रमाइलो भाछ । भनेपछि नेपाली काँग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने । अहिले आइरहेका छैनन् संसद् बैठकहरूमा । आउँछन्, नारा लगाउन सुरु गर्छन् । नारा लगाउन सिकाएको हो कि क्या हो ? नारा लगाइरहेका विषयहरू के–के छन् ? नारामा भनिएका कुरा सुन्नुस् त । नम्बर एक–संसदीय मर्यादा पालना गर । ओली गुटले मर्यादा पालना गरेको छ ? संविधानको सम्मान गर । तर गरेका छन् त ? अनि नारा के लगाएको हुन्छ त भन्दाखेरी हामीले कारबाही गरेका व्यक्तिलाई यहाँबाट हटा । के कारबाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ ? हामी भन्छौँ–छैन ।’
अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताएका छन् । उनले एमाले ओलीको प्राइभेट कम्पनीमा रूपान्तरण भइसकेको दोहोर्याएका छन् ।





























प्रतिक्रिया