आफ्नो सीमा ख्याल गर्न सहकारीकर्मीलाई रजिष्टारको निर्देशन

आफ्नो सीमा ख्याल गर्न सहकारीकर्मीलाई रजिष्टारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन्। सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मूल्य मान्यता ख्याल राख्न उनले निर्देशन दिएका हुन्। 

‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’,  मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारीले भने, ‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन।’

सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिएको बताए। 

विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमालाे गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे। तर, सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए। 

‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नु भएको छ।’

कार्यक्रममा सहकारीकर्मीहरूले सन्दर्भ ब्याजदर बढाउन आग्रह गरका थिए। जवाफमा रजिष्टार अधिकारीले बजारको आधारमा ब्याजदर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए। 

हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएको छ। तरलता अभावसँगै बैंकहरूको ब्याजदर वृद्धि भएकाले सहकारीको पनि ब्याजदर बढाउन सहकारीका संचालकले दबाब दिँदै आएका छन्।   
 

Logo