सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा जावलाखेल यूथ क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न सकेनन् र अंक बाँढ्न बाध्य भए।
२०औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्टभन्दा माथिबाट बाहिरिएको थियो।
४०औं मिनेटमा अन्गुना जुनियरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो। पहिलो हाफको इन्जुरी समयमा एपीएफका मणिकुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो।
४९औं मिनेटमा एपीएफका आशिष लामाको प्रहार जावलाखेलका रक्षकले विफल पारेका थिए।
६२औं मिनेटमा सुनिल खड्काले उपलब्ध गराएको पासमा अन्गुना जुनियरले गरेको हेडर बाहिरिँदा जावलाखेलले अग्रता लिने अवसरबाट वञ्चित भयो। ७२औं मिनेटमा जावलाखेलका दिपेन्कराज सिंहले गरेको प्रहार बाहिरियो।
८५औं मिनेटमा एपीएफका नवीन लामाको कर्नरमा बिक्की तामाङको प्रहार पहिलो बार नजिकबाट बाहिरिएको थियो।
बराबरपछि जावलाखेल सात खेलमा आठ अंकसहित नवौं स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको एपीएफ दसौँ स्थानमा छ।
यसअघि शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले १–१ को बराबरी खेलेका थिए।
आठौं चरण अन्तर्गत शनिबार तीन खेल हुनेछ। दुई खेल काठमाडौंमा हुँदा एक खेल पोखरामा हुनेछ।





























प्रतिक्रिया