काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम उत्साहजनक देखिएको दाबी गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीप्रति कठोर हुने समेत बताएका छन् ।
त्यस्तै सोमबारदेखि सुरु हुने भनिएको देशको आन्तरिक उडानका लागि बुकिङ सुरु भएसँगै उत्साहजनक बुकिङ भएको हवाइ सेवा कम्पनीहरूले जनाएका छन् । हवाई सेवा प्रदायक कम्पनीहरूले ६ महिनापछि उडानका लागि तयार हुँदा पनि अहिलेसम्म ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका हुन् । सरकारले पूर्ण क्षमतामै यात्रु राख्न पाउने निर्णय गरेसँगै हवाईभाडा पनि नबढ्ने भएको छ ।
नेपाल विधुत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न सबैसँग आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राख्दै कोभिड–१९ महामारी फैलिएको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगर्न आह्वान गरेका हुन् ।
त्यस्तैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका हुन् ।
विश्वकै सबैभन्दा महँगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । शनिबार बेलुका हुन गइरहेको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्ससँग कडा प्रतिस्पर्धा गर्नेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया