प्लास्टिकका घरभित्र भविष्य खाेज्दै हुम्लाका किसानहरू

प्लास्टिकका घरभित्र भविष्य खाेज्दै हुम्लाका किसानहरू

केन्द्रबिन्दु
0
Shares

हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिकरुपमा बलियो बनाइरहेको छ। बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिकरुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको छ। 

प्लाष्टिक घरभित्र हरिया सागपात उत्पादनसँगै तरकारीका बिरुवाहरूसमेत उत्पादन गर्ने गरेको खार्पुनाथ गाउँपालिका छिर्पा गाउँकी अप्सरा हमालले बताइन्। प्लास्टिकको घरभित्र उत्पादन भएको साग र अन्य तरकारी गाउँपालिकाको बजार क्षेत्रमा सहजै बिक्री हुने गरेको उनको भनाइ छ। खार्पुनाथ गाउँपालिका–४ को नल्ला र छिप्रा गाउँका ३० घरधुरीले प्लास्टिकको घरमा गोलभेँडा खेतीसहित अन्य तरकारी खेती गरिरहेका छन्। उनीहरूले उत्पादन गरेको तरकारी सिमकोटमा बिक्री गर्दै आएका छन् । अप्सरा हमाल भन्छिन्, ‘एक मूठा साग नै ४० देखि ५० रुपैयाँसम्म बिक्री गरिरहेका छौं ।’ उनले दिनकै ८० देखि सय मुठासम्म साग बिक्री गर्ने गरेको बताइन्। 

गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयोग र स्नोल्यान्ड एकीकृत विकास केन्द्रको प्रविधिक सहयोगमा हुम्लाको छिर्पा गाउँमा परम्परागत खेतीको विकल्पमा आधुनिक शैलीमा तरकारी खेती सुरु भएको हो। 

खार्पुनाथ गाउँपालिका–४ का दुई गाउँमा मात्र होइन, छिमेकी गाउँपालिकामा समेत प्लाष्टिक घरमा व्यवसायिकरुपमा तरकारी उत्पादन र बिक्री हुन थालेको छ। घरघरमै प्लाष्टिक घर बनाएर तरकारी खेती गरेपछि तरकारीमा आत्मनिर्भर मात्रै होइन, आर्थिकरुपमा पनि सबल भएको उनीहरू बताउँछन्। 

हुम्ला जस्तो अत्याधिक चिसो भेगमा प्लास्टिक घर किसानका लागि वरदान सावित भएको छ। उनीहरूलाई प्लास्टिक घरले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गरेको छ। सिंचाई सुविधा कम भएका ठाउँमा पनि सजिलै खेती गर्न सकिने भएकाले किसानहरूले थोरै क्षेत्रफलबाटै धेरै आम्दानी लिइरहेका छन्। एक सिजनमै ६० हजार रुपैयाँसम्म कमाइ गरेको सिमकोट गाउँपालिका–२ ठेहेका कर्ण बोहराले बताए। तरकारी बिक्रीबाटै घरको नुन, तेल, साबुन पुर्याउनुका साथै बालबालिकालाई स्टेशनरीका सामग्री किन्न सहयोग पुगेको उनले बताए। 

हुम्लाका किसानहरूलाई प्लास्टिकको घरले सबल बनाइरहेको बताउँछन् स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कृषि जेटिए जंग शाही। किसानहरूका लागि परम्परागत खेतीको विकल्प बनिरहेको उनको भनाइ छ। किसानहरूलाई बेमैसमी तरकारी खेतीमा यसले निकै सहयोग गरेको उनी बताउँछन्। 

Skip This
Skip This
Logo