राष्ट्रिय जनगणना-०७८ को प्रारम्भिक नतिजा : पुरुषको भन्दा महिलाको संख्या बढी

राष्ट्रिय जनगणना-०७८ को प्रारम्भिक नतिजा : पुरुषको भन्दा महिलाको संख्या बढी

केन्द्रबिन्दु
0
Shares

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ जना र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको तथ्यांक विभागले जनाएको छ।

त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ भने ती परिवारहरु ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । त्यसैगरी प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिएको जनाइएको छ।

सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ जना रहेका छन् । सबैभन्दा कम जनसंख्या भने कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८८९ जना रहेको छ।

७७ वटै जिल्लाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा परको छन्।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज नगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ । 

धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलीभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ । 

त्यस्तै सबैभन्दा धेरै जनसंख्या भएको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ जना रहेका छन् । १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ।

नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ।

Skip This
Skip This
Logo