गौरीगञ्ज-१ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा यहाँ आउँदा जग्गा प्रतिबिघा १०/१२ हजार थियो। वरिपरि जंगल थियो। भारतबाट आउने डाँकाका कारण बस्नै मुस्किल थियो। जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो थियो। ‘म त सानैमा आसाम गको थिएँ। फर्केर आउँदा बुबाआमा यो ठाउँमा बस्नु भएछ। मलाई त बस्ने मनै थिएन । तर, बुबाआमाका कारण बाध्य भएर बसेँ,’ प्रसाईं भन्छन्, ‘यहाँ त पहिला त विरक्त लाग्ने ठाउँ थियो । भारतका डाँकाले गोठबाटै गोरु चोरेर लैजान्थे।’ आसाममा गाई पालेर ल्याएको पैसाले चार बिघा जमिन किनेँ। उनको जमिन हुलाकी हिँड्ने बाटोसँगै जोडिएको थियो।
पछि हुलाकी हिँड्ने बाटोमा ठूलो सडक बनाउने चर्चा सुरु भयो। हुलाकी राजमार्ग बन्छ भन्ने उनलाई पत्यार थिएन । ‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ। तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने ?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो। हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो।’ अहिले उनको घरै अगाडि हुलाकी राजमार्ग छ। कालोपत्रे सडक छ। गत वर्ष हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्जको रतुवा नदीदेखि माई नदीसम्म सडक कालोपत्रे भएको छ। ‘यो ठाउँमा त पिच सडक देख्ने आश नै थिएन। तर, पोहोर साल घरै अगाडि सडक कालोपत्रे भयो,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा भए पनि कालोपत्रे सडक घरै अगाडि आयो । यो खुसी त कसरी व्यक्त गरौँ?’
गाई पालेर दूध बेचेर खाने प्रसाईंको जीवनमा हुलाकी राजमार्गले ठूलो परिवर्तन आएको छ। राजमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको दूधले बजार पाउने आश उनको छ। उनको चार बिघा जग्गाको मूल्य आकाशिएको छ। हुलाकी राजमार्ग आएसँगै विगतमा मूल्य नै नभएको यो ठाउँको जग्गा किन्न दैनिक मान्छेहरू आउने गरेको उनी बताउँछन्।
‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ। जग्गा करोडौंको भएको छ। अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’ उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला ?’
हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-२ का होमनाथ निरौलाको नाै कठ्ठा जग्गा छ। विगतमा जग्गा विक्री गर्छुभन्दा पनि नबिकेको जग्गा किन्न अहिले दैनिक ग्राहक आउँछन्। ‘पहिला त आवश्यक परेर बेच्छुभन्दा पनि विक्री हुँदैन थियो। अहिले दिनैपिच्छे मान्छे आउन थालेपछि अचम्मित छु,’ उनी भन्छन्, ‘राजमार्ग संचालनमा आएपछि जीवनस्तर नै होला भन्ने आश छ।’
राजमार्ग आउँदा स्थानीय पवित्रादेवी दाहाल खुसी छिन्। तर राजमार्गले जग्गाको मूल्य बढाएर मात्र केही नहुने उनी बताउँछिन्। ‘जग्गा खासै छैन। जग्गाको भाउ बढेर मात्र के हुन्छ र ? हामी जग्गा खासै नभएका मान्छेले के बेच्नु ?,’ उनी भन्छिन्,‘गाउँमा रोजगारी, अस्पताल आए पो हामीले सुख पायौँ भन्न मिल्थ्यो ।’
हुलाकी राजमार्गले स्थानीयमा खुसी त ल्याएको छ। तर, राजमार्ग अन्तर्गत पर्ने नदीहरूमा दशकदेखि पुल निर्माण नहुँदा स्थानीय चिन्तित् छन् । पुलकै कारण आफ्नो जीवनकालमा राजमार्ग नचल्ने हो कि भन्ने चिन्ता पनि छ। ‘सडक त बन्यो । तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन। यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो। सरकारले पनि पुल निर्माणमा ध्यान दिनुपर्यो। नभए त सडक मात्र बनेर के गर्नु ? प्रयोग भएन भने के काम ?’































प्रतिक्रिया