काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुने हल्ट प्राइज यस वर्ष पनि सुरु

काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुने हल्ट प्राइज यस वर्ष पनि सुरु

केन्द्रबिन्दु
0
Shares

हरेक वर्ष भव्यरुपमा काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुने हल्ट प्राइज यस वर्ष पनि सुरु भएको छ। 'गेटिङ द वर्ल्ड ब्याक टु वर्क' भन्ने थिममा विद्यार्थीहरुले आफ्नो उद्यमी सोचहरुलाई समूह बनाएर निर्णायकहरुको सामु प्रस्तुत गरि १ मिलियन अमेरिकी डलर जित्न सक्नेछन्। 

यस कार्यक्रममा विभिन्न स्थानीय तथा विश्वव्यापी खाद्यान्न, सुरक्षा, उर्जा, स्वास्थ्य आदि क्षेत्रमा भएको समस्याको विज्ञान र प्रविधि समेटेर समाधान लिएर विद्यार्थीहरु प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट उद्यमी सोच हुने टोलीले १ मिलियन डलर आफ्नो हात पार्ने मौका पाइ आफ्नो आइडियालाई जीवन दिन सक्नेछन्।

विश्वव्यापी कोभिड-१९ को लहरले रोजगारी क्षेत्रलाई पनि एकदमै नराम्रो प्रभाव पारेको छ। धेरैको रोजगारी खोसेको छ। कतिले जागिर छोड्न परेको छ। कतिपयले फेरि जागिर खोज्दा रोजगारीको अवसर नै नभएको अवस्था छ। त्यसैले के.युले यस पटक हल्ट प्राइजको माध्यमबाट यही समस्याको समाधान खोजेको छ। 

नेपालमै पहिलो पटक २०१६ मा हल्ट प्राइज आयोजना गरेको काठमाडौं विश्वविद्यलयले आफ्नो हल्ट प्राइज यात्राको ६ सफल वर्ष पूरा गरिसकेको छ । विद्यार्थीहरूका लागि “नोबेल पुरस्कार” भनेर चिनिने हल्ट प्राइज अहिले क्याम्पस निर्देशक रोहन म. श्रेष्ठको नेतृत्वमा अग्रगामी रुपमा चलिरहेको छ। उनीसँग आफूजस्तै केही गरौं भनेर अगाडि बढीरहेको एउटा उत्कृष्ट आयोजक समिति रहेको जानकारी गराए। उनी भन्छन्, “हल्ट प्राइज एक विश्वव्यापी संजाल हो, जसले विद्यार्थीहरूलाई उद्यमशील सीपहरू सिक्न प्रशिक्षण दिँदै उद्यमशील विचारहरू मार्फत समाजमा प्रभाव पार्न मद्दत गरेको छ। म सबै जनालाई यसमा सहभागी हुन प्रोत्साहन गर्दछु।”

के.युको आफ्नै हाताभित्र हुने यो कार्यक्रममा पहिले पनि थुप्रै समूहहरु भिडेर उत्कृष्ट समूहहरु आफ्नो उद्यमी सोचहरु लिएर संसारका थुप्रै ठाउँ पुगिसकेका छन्। यस कार्यक्रमले स्वदेशी तथा विदेशी उद्यमीहरुलाई विद्यार्थीहरूसँग जोड्ने माध्यमको रुपमा पनि काम गरिरहेको छ।

यस प्रतियोगितामा भाग लिनको लागि हल्ट प्राइज एट काठमाडौँ विश्वविद्यालयको आधिकारिक वेबसाइट http://www.hultprizeat.com/ku-nepal मा गएर आफ्नो टोली दर्ता गर्नु पर्दछ र एउटा टोलीमा ३ देखि ४ जनासम्म मात्र रहन मिल्छ। आवेदन माघ महिनाभरि खुल्ला रहनेछ र प्रतियोगितामा भाग लिन कुनै शुल्क लाग्ने छैन।

Logo