ती क्रसर उद्योग, जसले शान्तिको जीवनमा फेरि अशान्ति ल्याउँदैछन्

ती क्रसर उद्योग, जसले शान्तिको जीवनमा फेरि अशान्ति ल्याउँदैछन्

केन्द्रबिन्दु
0
Shares

धनुषाकी शान्ति क्यापछाकी  बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन्।  क्रसर व्यवसायी र ट्याक्टरले खुलमखुला उठाउँदै गरेको नदीजन्य बस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाई सम्झन्छिन् र भावुक बन्छिन्। नदीको किनारमा गएर बालुवा चाल्दै दैनिक जीविकोपार्जन गर्न शान्तिको लागि रातुको किनार सबथोक हो। 

यही किनारको वरिपरि बाढीले थुप्रो बनाएका बालुवाका ढिस्का फुटाएर उनले ३० वर्ष गुजारिन् । बालुवा चालेर नै  छोराछोरीको भविष्य बनाइन्। चार छोराछोरीलाई भनेजस्तो विषय पढाउन नसके पनि सरकारी विद्यालयमा पढाएरै शिक्षित बनाइन् ।

केही वर्ष अगाडि शान्तिलाई बालुवाको अर्डर लिएर भ्याइनभ्याइ हुन्थ्यो। तर, अहिले  किनारका छेउछाउमा बाक्लै खुलेका क्रसर उद्योगहरूले बालुवा चाल्ने पेसालाई विस्थापन गरिदिने अवस्था सिर्जना भएको छ।

‘अब गरिखान साह्रै गाह्रो छ। सबै किनबेच अहिले त क्रसर उद्योगबाट नै हुन्छ,’ उनले भनिन् । नदी किनारमा बालुवा चाल्दाचाल्दै शान्तिका श्रीमानले ज्यान गुमाए। बालुवा चालेर गुजारा गर्नु उनको परिवारको लागि पुर्ख्यौली पेसा जस्तै बन्यो। 

किनारमा मापदण्डविपरीत खुलेका कयौँ क्रसर उद्योग छन्। राजमार्ग र नदीको किनारबाट जति दूरीमा क्रसर खोल्नुपर्ने प्रावधान छ, त्यसलाई खुलमखुला धज्जी उडाउँदै दैनिक सयौं ट्याक्टर नदीका किनारबाट बालुवा तथा नदीजन्य वस्तुको दोहन भइरहेको छ। 

क्रसर कै चपेटामा परेर शान्तिलाई हिजोआज बालुवा चालेर जीविकोपार्जन गर्न निकै कठिन छ।  ‘पहिला त क्रसरहरू थिएनन्। तर, अहिले बाक्लै खुलेका क्रसरहरूले रोजीरोटी नै बन्द गराउलान् जस्तो छ,’ उनी भन्छिन् ।

रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तिको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ। छ्यापछ्याप्ती नदीजन्य वस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् । २, ४ जना मजदुर ल्याएर बेल्चाले उठाएर क्षणभरमा नै एक टिप बनाएर ट्याक्टरहरू ओहोरदोहोर गरेको शान्तिहरू साक्षी बन्छन्। तर, निरीह हुनुको विकल्प पनि त छैन । के पो गर्न सकिन्छ र ? शान्ति प्रतिप्रश्न गर्छिन् । 

शान्तिले अहिले पनि बालुवा चाल्ने आफ्नो दैनिकीलाई निरन्तरता दिएकै छन्। दुःख गरेर चालेको बालुवामा कोही आएर भाउमा नै बार्गेनिङ गर्दा भने शान्तिलाई दुःख लागेर आउँछ।

कहिलेकाहीँ शान्ति पहिला र अहिलेलाई तुलना गर्दै भावुक हुन्छिन्। ‘पहिले महंगी थिएन, व्यापार पनि थियो। तर, अहिले त्यो समय रहेन,’ उनी भन्छिन्, ‘तैपनि दिनभरि नदी किनारमा बसेर बालुवा चाल्ने कर्मलाई निरन्तरता दिइरहेको छु। दुई, चार दिनमा कोही–कोही आउँछन् र लिएर जान्छन् ।’

शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाई बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको आँखा लाग्दैन। ‘हामी किनारमा बसेर चार दिन लगाएर एक ट्याक्टर बालुवा चाल्छौँ, तैपनि स्थानीय प्रशासन आँखा लगाउँछन् बडो अचम्म लाग्छ,’ उनले भनिन् ।

हुन त शान्तिलाई नदीको किनारमा बाक्लै खुलेका क्रसरहरूले नदीजन्य बस्तुको उत्खनन गर्दा नियमविपरीत हुन्छ कि नियमसंगत हुन्छ, थाहा छैन । तर, यतिमात्र थाहा छ कि क्रसरहरूले नै शान्तिको व्यवसाय ठप्प बनाए, रोजीरोटी र जीविकोपार्जनमा समस्या बने ।

योसँगै वर्षायाममा नदीको भेलले ३ महिना काम नै ठप्प हुन्छ। ‘वर्षायाम लागेपछि अरुको बनिबुथो गर्न जान्छु अनि बिहान–बेलुकाको छाक टार्छौँ’, शान्ति भन्छिन् । 

अहिले रातु नदीको किनारमा ५० को हाराहारीमा क्रसर उद्योग छन् भने बालुवा चालेर जीविकोपार्जन गर्नेहरूको संख्या पनि अधिक छ। विशेषगरि धनुषाको मिथिला, महोत्तरीको बर्दिबासजस्ता ठाउँका कयौँ सर्वसाधारणहरूको जीविकोपार्जन अझै रातु नदीले धानिरहेको छ। तर, जीविकोपार्जनको दायरा साँघुरिँदै गएपछि शान्ति जस्तै कयौँले पेसाको विकल्प रोजिरहेका छन्।

Logo