पेटमा जब भाेककाे आगाे बल्याे, तब गिट्टी कुट्न बाध्य भए महिलाहरू

पेटमा जब भाेककाे आगाे बल्याे, तब गिट्टी कुट्न बाध्य भए महिलाहरू

केन्द्रबिन्दु
0
Shares

माघकाे चिसाे । घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन। तर, मुगु छायाँनाथ रारा नगरपालिका-५ ढुमगाउँका दलित महिला बिहान उज्यालाे हुँदा नहुँदै हातमा हथाैडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन्। याे दैनिक उनीहरूकाे अहिले मात्रै हाेइन। के जाडाे के गर्मी, हरेक माैसममा उनीहरू उज्यालाे हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन् । यही कामबाट उनीहरूले वर्षाैंदेखि परिवार पालिरहेका छन्।  

ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउँ, के गरुँ, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन । सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै । तर पनि बर्षाैंदेखि उनी यही काम गर्न बाध्य छिन्। रन्नादेवी मात्रै हाेइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन्।  

विशेषगरि छायाँनाथ रारा नगरपालिकाकाे थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाकाे जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेकाे छ। छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन्। उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन् । कामीले भनिन्, 'गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ। यही आम्दानीले घर खर्च, छोराछोरीकाे पठनपाठन गरिरहेकी छु।' उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेकाे बताइन्।  

४० वर्षीया रन्नदेवी विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेकाे बताइन् । 'हाम्रो रोजगारी भनेकै यही हो । श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाकाे २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,' उनका श्रीमान नारायण सिंह कामीले भने ।

बालमन्दिर आधारभूत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमा र काकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन्। उनी पनि रहरले गिट्टी कुट्न आएकी होइनन् । पढाई खर्चको जाेहाे गर्न आएकाे बताइन् । उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जाेहाे गरेकाे बताइन्। घरबाट गिट्टी कुट्न निस्कँदा हथाैडा बोकेर निस्कन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन् । त्यो देखेर आँशु झर्ने गरेकाे उनले सुनाइन्।    

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन्। तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ। घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पनि काम गर्न बाध्य छन्। निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ। महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन्।

Logo