सातदोबाटो युथ क्लबमाथि जित निकालेकाे मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्र दुई खेल अगावै च्याम्पियन भएको हो । मच्छिन्द्रलाई च्याम्पियन बनाउने विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले ५३औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भएका थिए । जुन गोल च्याम्पियन बन्नका लागि पर्याप्त भएको हो ।
यससँगै मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । बलियो टोलीविरुद्ध राम्रो नतिजा निकालेको नवप्रवेशी सातदोबाटो र मच्छिन्द्रबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । यद्यपि सुरुआतबाट आक्रामक खेल खेलको मच्छिन्द्र पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएको थियो । सोही क्रममा ११ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो । १८ औं मिनेटमा सातदोबाटोका सुदिप गुरुङको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्तिमगरले दुई डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल सातदोबाटोका गोलकिपर अविशेक बरालले उत्कृष्ट ढंगले बचाउँदा मच्छिन्द्रको अग्रताको अवसर गुमेको थियो । त्यसपछि पनि दुबै टोलीले केही राम्रा अवसर बनाएका थिए । तर पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रामक खेललाई निरन्तरता दिएको मच्छिन्द्रले गोल गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।
जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेर समिकरणबाट दुई खेल अगावै च्याम्पियन भएको हो । मछिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौं स्थानमा रहेको छ ।
ए डिभिजन लिग अन्तर्गत बुधबारकै अर्को खेलमा त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकियो । १० खेलाडीमा समेटिएको आर्मीले सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो । खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको आर्मी ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोलबाट बराबरीमा आएको थियो । इन्जुरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयनका सुरेश कुमाललाई पेनाल्टी क्षेत्र बाहिर आएर खराब फाउल गरेपछि विकेशले रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएका थिए । बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोड्यो । आर्मी लिगको तेस्रो स्थानमा छ । हिमालयनले ११ खेलमा १२ अंक जोडेको छ । हिमालयन आठौं स्थानमा रहेको छ ।
बुधबार भएको खेलमा थ्री स्टार र पुलिसले पनि १–१ गोलको बराबरी खेले । दशरथ रंगशालामा नै भएको खेलमा थ्री स्टारले सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको २१ औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएपछिको बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै थ्री स्टारले ११ खेलमा १८ अंक जोडेको छ । पुलिसले ११ खेलमा ११ अंक जोडेको छ ।





























प्रतिक्रिया