घरजग्गामा बैंकहरूकाे सीमाभन्दा बढी ऋण, राष्ट्र बैंकले निगरानी बढाउँदै

घरजग्गामा बैंकहरूकाे सीमाभन्दा बढी ऋण, राष्ट्र बैंकले निगरानी बढाउँदै

केन्द्रबिन्दु
0
Shares

के तपाईं एक वर्षमै मूल्य दोब्बर हुने लोभमा ऋण लिएर जग्गा किन्दै हुनुहुन्छ ? हो भने अहिले जग्गा किन्ने योजना केही समय पर धकेल्नुस्।

नेपालमा घरजग्गाको मूल्य पछिल्लो छोटो अवधिमै दोब्बर/तेब्बरले बढेको छ। तरलतामा संकुचन आएपछि कारोबार निरन्तर घटिरहेको छ। बैंक तथा वित्तीय संस्थाको एक तिहाई ऋण भने यही क्षेत्रमा फसेको छ ।

शेयर धितो ऋणमा कडाइपछि आयातमा कडाइ गर्दा पनि तरलतामा सुधार आएको छैन। अब राष्ट्र बैंकले कडाइ गर्न बाँकी रहेको यही एउटा क्षेत्र मात्रै भएकोले अहिले सबैको नजर राष्ट्र बैंकमाथि रहेको छ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कडाइ गरेमा धितो मूल्याङ्कनको सीमा घटाउनुका साथै, घरजग्गा क्षेत्रमा जाने ऋणको सीमा पनि घटाउन सक्ने सम्भावना रहेको घरजग्गा क्षेत्रका जानकारहरु बताउँछन् । विज्ञहरुले भने बैंकले ऋण दिंदा मालपोत कार्यालयको न्यूनतम मूल्याङ्कनलाई आधार मान्नुपर्ने पनि सुझाव दिइरहेका छन् । 

सीमा २५ प्रतिशत, ऋण ३५ प्रतिशत 
अहिले संस्थागत लगानीकर्ताको नाममा गएको बैंक ऋणलाई मात्रै घरजग्गा क्षेत्रमा गएको ऋणको रुपमा बैंकहरुले गणना गरेको पाइन्छ। यसरी संस्थागत रुपमा घरजग्गा क्षेत्रमा गएको ऋण करीब साढे ५ खर्ब रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको तथ्याङ्क छ। जुन २५ प्रतिशतको सीमाको आधाभन्दा पनि कम हो।

तर बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गरेको एक अध्ययनले भने अन्य शीर्षकमा गएको साढे १० खर्ब रुपैयाँ ऋण पनि घरजग्गा र शेयर बजारमै गएको हुन सक्ने देखाएको छ। यसरी अन्य शीर्षकमा गएको ऋणको भार कुल ऋण लगानीको २३ प्रतिशत रहेको सिबिफिनको अध्ययनमा उल्लेख छ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा आवासिय घरकर्जा सहित २५ प्रतिशत सम्म मात्रै कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। संस्थागत लगानीकर्ता बाहेक अन्य व्यक्ति तथा संस्थाले घरजग्गा शीर्षकमा कर्जा नलिएर ओभर ड्राफ्ट वा अन्य शीर्षकमा कर्जा लिने गरेकाले रियल इस्टेट कर्जा सीमाभित्र रहे जस्तो देखिन्छ। 

तर वास्तविकतामा भने यो क्षेत्रमा ३५ प्रतिशत हाराहारी कर्जा प्रवाह भएको सिबिफिनकै अध्ययनले देखाएको छ ।

६ महिनामा ३३ प्रतिशत बढ्यो कर्जा प्रवाह
राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनाको समीक्षा अवधिमा घरजग्गा कर्जा १२ प्रतिशत र ओभर ड्राफ्ट कर्जा २१ प्रतिशत गरि कुल कर्जा प्रवाहमा ३३ प्रतिशतको वृद्धि देखिएको छ।

यही तथ्याङ्कले राष्ट्र बैंक झस्किएको र आगामी समीक्षामा यस क्षेत्रमा कडाइ गर्न सक्ने जानकारहरु बताउँछन्। राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रिय बैंकले यसअघि देखि नै घरजग्गा क्षेत्रमा निगरानी बढाइरहेको छ। अहिले देशको अर्थतन्त्रमै चाप परेपछि यस्तो अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने विषयमा विज्ञहरुले सुझाव दिइरहेका छन्।

टाठाबाठा बाहिरिए, सिधासाधा फस्दै
अहिले टाठाबाठा व्यवसायी २/४ लाख रुपैयाँ सस्तोमा जग्गा बेचेर बजारबाट बाहिरिसकेको व्यवसायीहरुले नै बताउने गरेका छन् । त्यसैले २/४ लाख रुपैयाँ सस्तो जग्गा पाउँदैमा ऋण लिएर जग्गा किन्नेहरु फस्न सक्ने जानकारहरु बताउँछन् ।अभियान दैनिकबाट

Logo