शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका दुई सक्रिय पत्रकारलाई कदरपत्र प्रदान

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका दुई सक्रिय पत्रकारलाई कदरपत्र प्रदान

केन्द्रबिन्दु
0
Shares

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुई जना पत्रकारलाई २०७८ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। 

कदरपत्र पाउने पत्रकारहरू राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपी छन् । उनीहरूलाई आज फागुन ७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । 

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र हरेक वर्ष काभ्रे जिल्लाका दुई जना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ। ०६८ सालदेखि याे सम्मान दिइन थालिएकाे हाे ।

यस वर्ष सम्मानित हुने मध्ये पत्रकार कालोटोपी विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । 
मण्डनदेउपूर नगरपालिका १० का स्थायी वासिन्दा उनले लामो समय नेपाल समाचारपत्र दैनिकमा आबद्ध भएर पत्रकारिता गरेका थिए । हाल केन्द्रबिन्दु मिडियामा वरिष्ठ उपसम्पादक भएर काम गरिरहेका छन् । उनी काभ्रेको मध्यमार्ग साप्ताहिकका विशेष सम्वाददाता पनि हुन् ।

यस्तै पत्रकार पराजुली पनि विगत २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । पाँचखाल नगरपालिकाका उनले यसअघि 'द हिमालय टाइम्स' र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध भएर काम गरेका थिए। हाल उनी जिल्लाबाट राससमा कार्यरत छन्। 

कार्यक्रममा १० वर्षकाे उमेरमा करेन्ट लागेर एउटा हात गुमाएका विद्यार्थी सुजन कामीलाई रूपमति विकलाङ्ग छात्रवृत्ती प्रदान गरिएकाे थियाे । 

उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका गतिविधिहरूको  जानकारी गराएका थिए । शब्दयात्रा प्रकाशनले हालसम्म १७० वटा पुस्तकहरू प्रकाशन गरेकाे छ । संस्थाले हरेक वर्ष १८ विधामा सम्मान, ६ विधामा पुरस्कार र ३ विधामा छात्रवृत्ती प्रदान गर्दै आएकाे छ। ६ वटा जिल्लामा सम्पर्क कार्यालय रहेकाे यस संस्थाले आगामी वर्षदेखि ३ जना पत्रकारलाई सम्मान गर्ने जनाएकाे छ। संस्थापक अध्यक्ष मञ्जुश्रीले शब्दयात्रा प्रकाशनलाई यहाँसम्म ल्याउन सबैकाे सहयाेग महत्वपूर्ण रहेकाले समुदायले चाहने हाे भने कुनै पनि काम गर्न कठिन नहुने विचार व्यक्त गरे ।

आजकाे कार्यक्रममा कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरिगोपाल प्रधानले उपहार र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गरेका थिए। 

कार्यक्रममा राजकुमार पराजुलीका विषयमा रामकृष्ण तिमल्सिनाले र ज्ञानमणि नेपाल कालोटोपीका विषयमा प्रदीप केसीले जानकारी गराएका थिए। शिक्षासेवी माधवप्रसाद आचार्यले उद्घाटन गरेको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गरेका थिए।

कदरपत्र प्राप्त गर्ने दुवै पत्रकारले यस सम्मानले अबका दिनमा थप दायित्वबाेध भएकाे भन्दै संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा कदरपत्रको वाचन आजीवन सदस्य पुण्यवती घले र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले तथा स्वागत मन्तव्य सञ्चालक सदस्य केदारनाथ तिमल्सिनाले राखेका थिए। कार्यक्रमको समीक्षासहित समापन गीतिभास्कर मच्छेश्वर सापकोटाले गरेका थिए।

Logo