राष्ट्र बैंकको मौद्रिक नीतिले शेयर बजारमा कस्तो असर गर्छ?

राष्ट्र बैंकको मौद्रिक नीतिले शेयर बजारमा कस्तो असर गर्छ?

केन्द्रबिन्दु
0
Shares

शेयर बजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारका लागि सकारात्मक रहेको बताएका छन् ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नेपाली शेयर बजारका लागि सकारात्मक रहेको बताएका हुन् । उनले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र  प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएका कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गरे । 

उनले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङ्गले नियोजितरुपमा शेयर बजारमा चलखेल गर्नका लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताए । राष्ट्र बैंकले शेयर कर्जामा ४/१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनको भनाइ छ। भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले आरोप लगाए । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ।

त्यस्तै भट्टराईले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने शेयर लगानीकर्ता छुट्याउनु पर्ने बताए । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लामो समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि  कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताए । यसो गरे मात्रै शेयर बजार स्थिर हुनसक्ने बताउँदै उनले राष्ट्र बैंकले शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस् भन्ने हिसाबले नबनाएको स्पष्ट पारे। 

उनले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो भन्दै बैंकलाई शेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताए । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्षरुपमा नियन्त्रण गर्न नमिल्ने उनको भनाइ छ। भट्टराईले राष्ट्र बैंकको बैंक ब्याजदर बढाउने नीतिले बजारलाई भने प्रभाव पार्ने बताए । राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उनले बताए।

तर यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा धितोकर्जामा ४/१२ को सीमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै गलत भएको बताइन् । उनले शेयर बजारमा ४/१२ को सीमा नै राख्नु पर्ने अवस्था नभएको बताइन् । पोखरेलले शेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताउँदै अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले शेयर बजारको लागि बन्ने नीति एक हप्ता, एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले ४/१२ को सीमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले शेयर बजारलाई कुनरुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गरिन् । बजार सधैं बढाउनेभन्दा पनि शेयर बजारप्रति  सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने उनको भनाइ छ।

अध्यक्ष पोखरेलले शेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्न सुझाव दिइन्। जिम्मेवार नेतृत्वले जे कुरा बोल्नुहुन्छ त्यो नै नीति बन्ने भएकाले बजारलाई असर गर्ने उनको भनाइ छ। अध्यक्ष पोखरेलले पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा शेयर बजारप्रति फैलाउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक्क रुपमा शेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गरिन् । उनले लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक निकायको कुदृष्टिको कारण लगानीकर्ता डिप्रेसनमा पुग्न लागेको बताइन् । मुलुकमा स्थानीय तहको चुनाव हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएकाले शेयर बजारमा बलेको आगोमाथि घ्यु थप्ने कामसमेत भएको अध्यक्ष पोखरेलको आरोप छ।

अध्यक्ष पोखरेलले नियामक निकाय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक चारैतिरबाट शेयर बजारमा नीतिगत प्रहार गर्ने हो भने शेयर बजार सूचक एक हजार मात्रै नभएर २९२ मा पुग्न सक्ने बताइन्। 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ। राष्ट्र बैंकले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ। मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरि ७ प्रतिशत कायम गरिएको छ। 

Logo